मादी गाउँपालिकाको दशौं गाउँसभा सम्पन्नः रोयल्टीको ७० प्रतिशत माग

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको मादी गाउँपालिकाले दशौँ गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले हालसम्म गरेको पूर्वाधार विकासका काम तथा हालसम्मका आयव्यय र भावी रणनीति गाउँसभामा सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले अन्नपूर्ण क्षेत्रमा हालसम्म भएका भएका पर्यटकीय गतिविधि बाट संकलित रोयल्टीको सत्तरी प्रतिशत अंशको माग गरेको छ ।

गाउँपालिकाको क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र हटाउन र सो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन गाउँपालिका मातहत रहने व्यवस्था मिलाउन पनि गाउँपालिकाले भनेको छ ।

गाउँसभाले पाँचवटा विद्येयक र दुईवटा संशोधन विद्येयक पारित गरेको छ ।मादी गाउँपालिकाको वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७८, मादी गाउँपालिकाको बालबालिकाको अधिकार संरक्षण संवद्र्धन तथा प्रर्वद्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८, मादी गाउँपालिकाको स्थानीय भूमि सम्बन्धी विधेयक २०७८ पारित भएको छ ।

मादी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, मादी गाउँपालिका कर्मचारी सेवा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७८ समेत पारित भएको छ ।

यस्तै गाउँसभाले गाउँपालिकाको पहिलो अर्धवार्षिक अवधिसम्मको आय व्यय विवरण सार्वजनिक गरेको छ ।कुल वजेट २३ करोड ३९ लाख १४ हजार ६६ रुपैयाँ ९० पैसा रहेकोमा खर्च १३ करोड ८६ लाख ९९ हजार ४ सय २ रुपैयाँ ३५ पैसा रहेको जनाइएको छ ।

गाउँपालिकाले कृषि विकास तथा पशुसेवा,पर्यटन तथा रोजगार प्रर्वद्धन,सामाजिक विकास,स्वास्थ्य शिक्षा,खानेपानी,महिला बालवालिका, जेष्ठ नागरिक तथा अपाङ्गता ,सुशासन तथा संस्थागत विकास,सुरक्षित नागरिक आवास ,पूर्वाधार विकास लगायतका कार्यक्रम सार्वजनिक गरेको छ।

  • २९ पुष २०७८, बिहीबार १७:१४ प्रकाशित