खोप कार्ड हराए के गर्ने र लिन कहाँ जाने ?

केन्द्रभाग मिडिया

सरकारले विस्तारै खोप कार्ड अनिवार्य गर्ने बताएसँगै आमनागरिकमा चिन्ता बढेको छ ।

कतिपयले वर्षदिन अघि नै खोप लगाएको र खोप कार्ड हराएकाहरु अब के गर्ने , कहाँ गएर खोप कार्ड बनाउने भन्ने अन्योलमा परेका छन् ।स्वास्थ्य मन्त्रालयले खोप कार्ड हराएका र खोप लगाएर पनि कार्ड नपाएकालाई नआत्तिन आग्रह गरेको छ ।

मन्त्रालयको अधिकारीहरूले खोप कार्ड हराएका र केही स्थानमा पहिले कार्ड सकिएकाले पाउन नसकेका व्यक्तिहरूले सहजै त्यस्तो कार्ड पाउने बताएका हुन्।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार त्यस्ता व्यक्तिहरूले आफूले खोप लगाएकै स्थानबाट कार्ड पाउन सक्नेछन् ।अन्य ठाउँबाट कार्ड लिन खोज्दा यकिन विवरण थाहा नहुने, झन्झट हुने भएकाले आफूले खोप लगाएकै स्थानमा खोप कार्ड बनाउन जान दाहालले आग्रह गरेका छन् ।

उनले भने, ‘पहिला खोप कार्ड नभएर केही स्थानमा खोप लगाउनेहरूले पनि कार्ड नपाएको कुरा साँचो हो। तर अहिले कार्ड नपाउने भन्ने अवस्था छैन।

खोप लगाइसकेका व्यक्तिले कार्ड बनाउन चाहन्छन् भने खोप लिएकै स्थानमा जाँदा कार्ड बनिहाल्छ। जान चाहिँ त्यही स्थानमा जानुपर्‍यो किनकि विवरण त त्यहीँ छ।’

उनले कार्ड हराउने व्यक्तिका हकमा पनि जहाँबाट खोप लगाएको त्यही स्थानमा गई बनाउन सकिने बताए । यस्तै मन्त्रालयले खोप कार्डकै जथाभावी खोप नलगाउन पनि आग्रह गरेको छ।

खोप कार्ड हराएका व्यक्तिहरूले खोप कार्ड बनाउनकै लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै थप मात्रा खोप नलिन मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले सरकारी कार्यालयहरू, सार्वजनिक स्थल र भिडभाड हुने ठाउँमा कोभिड १९ विरुद्ध खोप लगाएको प्रमाण देखाउन खोप कार्ड अनिवार्य गरिएको छ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले आफ्नो कार्ड सुरक्षित राख्न र विद्युतीय कार्डका लागि दर्ता गराएर खोप लगाएको प्रमाण सधैँका निम्ति सुरक्षित गर्न आग्रह गरेका छन्।भविष्यमा बुष्टर डोज लगाउनका लागि पनि अहिलेको खोप कार्ड आवश्यक पर्ने अधिकारीहरुले बताएका छन् ।

भिडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रङ्गशालाजस्ता स्थानमा पनि त्यस्तै व्यवस्था गर्न सम्बन्धित सरकारी निकायहरूले निर्देशन दिइसकेका छन्।अब सरकारी कार्यालयसहित होटल, रेस्टुराँ, हल, रङ्गशाला, पार्क लगायतमा प्रवेशका लागि माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य हुनेछ।

आन्तरिक उडानका लागि विमानस्थल प्रवेशका लागि भने माघ ३ गतेदेखि नै खोप कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन्।

विभिन्न सरकारी निकायले निकालेका सूचनामा खोप कार्ड लागु भएपछि सबैले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ।तर त्यसका लागि खोप कार्ड नै बोक्नुपर्छ भन्ने चाहिँ छैन। मानिसहरूले प्रमाणित हुने खालको खोप कार्डको तस्बिर मोबाइलमा देखाए पनि हुनेछ।

मन्त्रालयले खोप कार्ड नहराउन आग्रह गर्दै थप खोप लगाउन, विदेश जानुपर्दा ,सरकारी निकायमा गएर कुनै काम कारबाही गर्नुपर्ने बेलामा प्रवेश गर्दा आवश्यक पर्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाइसकेका व्यक्तिहरूले  https://vaccine.mohp.gov.np/ मा गएर आफ्नो विवरण भर्न सक्ने र त्यहाँबाट क्यूआर कोडसहितको कार्ड प्राप्त गर्न सक्ने छन्।

त्यस्तो विवरण सधैँका लागि सुरक्षित हुने चाहेको बेलामा सहजै लिन सकिने अधिकारीले बताए।

  • २९ पुष २०७८, बिहीबार १५:२५ प्रकाशित