पृथ्वी नारायण शाहको विचार आत्मसाथ गर्न सके मुलकमा आर्थिक रुपान्तरण आउँछः राष्ट्रपति भण्डारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहका विचारलाई आत्मसाथ गर्न सके मुलुकको सामाजिक र आर्थिक रुपान्तरणमा योगदान पुग्ने बताएकी छन् ।

पृथ्वी नारायण शाहको ३०० औँ जन्मजयन्तीको अवसरमा भण्डारीले शुभकामना सन्देश जारी गर्दै सो कुरा बताएकी हन् ।उनले जारी गरेको सन्देशमा भनिएको छ,‘

महत्वपूर्ण राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्न जान्छ ।’

यस्तै भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् । राष्ट्रपतिले भनेकी छन्, “यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।”

देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहेको राष्ट्रपतिको भनाइ छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठुलो योगदान गरेको तथ्य इतिहासमा अङ्कित रहेको राष्ट्रपतिले स्मरण गरेकी छन् ।

राष्ट्रपतिले सन्देशमा भनेकी छन्, “नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थन्तन्त्रसहितको सबल राष्ट्र निर्माण गर्नु नै थियो ।”

नेपाल एकीकरणमार्फत यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार भूमिसमेत तयार भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “तत्कालीन समयमा पृथ्वीनारायणले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा छाडेर गएका सन्देश वर्तमान अवस्थामा पनि उत्तिकै मननीय रहेका छन् ।”

  • २७ पुष २०७८, मंगलवार ०९:५३ प्रकाशित