कोरोना कहर : दुई हप्ता विद्यालय बन्द गर्न निर्देशन

केन्द्रभाग मिडिया

पोखरा ।
कोरोना भाइरस संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुने गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

हाल कतिपय विद्यालयमा परीक्षा चलिरहेकोले उक्त परीक्षा सकिएपछि अवस्था हेरेर सम्बन्धित स्थानीय तहलाई विद्यालय बन्द गराउन निर्देशन दिइएको छ । कोरोना संक्रमणदर बढ्न थालेपछि छोटो समयको लागि विद्यालय बन्द गर्ने निर्णय भएको सिसिएमसिसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

उनले कम्तीमा २ हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिइन् । उनका अनुसार यो नियम स्कुल तहमा मात्रै लागू हुनेछ। माथिल्लो तहका स्कुल क्याम्पस आवश्यकताका आधारमा निर्णय गर्न सक्नेछन् ।

भौतिक रूपमा विद्यालय बन्दको समयमा अनलाइन तथा प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ कार्य गर्न पनि बैठकले अनुरोध गरेको छ । परीक्षा चलेका विद्यालयमा भने परीक्षा सकिएपछि अवस्था हेरेर बन्द गराउन स्थानीय तहलाई निर्देशन दिइएको हो ।

  • २५ पुष २०७८, आईतवार १९:५० प्रकाशित