‘लगानीमैत्री वातावरण बनाउन हामी प्रतिबद्ध छौँ’ : मन्त्री थापा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आरकेडी होल्डीङ्ग कम्पनीको ५ औं साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै उनले व्यवसायीको लगानीलाई सुरक्षा गर्ने जिम्मेबारी सरकारको समेत रहेको उल्लेख गरे ।

‘प्रदेशमा व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन हामी प्रतिबद्ध छौं’, उनले भने, ‘व्यवसायी र लगानीकर्ताहरुको हित विपरितको ऐनहरुलाई परिमार्जित गर्दै नियमानुसार सहज र सरल बनाउने छौं ।’

मन्त्री थापाले आरकेडी होल्डीङग कम्पनीले स्थानीय जनतालाई स्वरोजगारतर्फ केन्द्रीत गराइरहेको उल्लेख गरे । कम्पनीले मुनाफा कमाउने हेतुले मात्र नभई सामाजिक सेवा समेत प्रवाह गरिरहेको भनाई उनको थियो ।

‘आरकेडी होल्डीङ्ग कम्पनीले लगानी मात्र गरेको छैन । सामाजिक सेवा समेत प्रवाह गरिरहेको भान हुन्छ । आफु मात्रै कमाउने आफु मात्रै रमाउने नभई जनतालाई नै स्वरोजगार हुन सिकाउने बाटोमा आरकेडी लागेको देख्दा खुशी लागेको छ ।’, उनले भने

मन्त्री थापाले व्यवसायी क्षेत्रबाट आफु राजनीतिमा आएको र व्यवसायीको पीरमर्कालाई नजिकबाट बुझेको बताउँदै जनताको हितबमोजिम नै व्यवसाय क्षेत्रको वृतिविकासका लागि सरल कानून निर्माणमा ध्यान दिने उल्लेख गरे ।

उनले गण्डकी प्रदेशमा पर्यटकको आकर्षण बढाउन थप लगानीको आवश्यकता रहेको बताए। प्रदेशमा सम्भावना भएका पर्यटकीय क्षेत्रको विकास र संरक्षणमा सरकारलाई सहयोग गर्न उनको आग्रह छ । सबै मिलेर नै प्रदेशको आर्थिक स्थरमा सुधार ल्याउन सकिने धारणा उनको छ ।

मन्त्री थापाले व्यवसायीले लगानी गरेर मात्र नहुने र लगानी अनुसारको उत्पादनमा समेत ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । ‘व्यवसायीले लगानी गरेर मात्र हुँदैन । लगानी सही ठाउँमा छ वा छैन त्यसको ख्याल गर्नुपर्छ । उत्पादनमुखी क्षेत्रमा लगानी गर्दै त्यसको बजारीकरणमा समेत ध्यान दिएको खण्डमा स्वरोजगारलाई बढ्वा दिन सकिन्छ ।’

  • २५ पुष २०७८, आईतवार १७:०२ प्रकाशित