प्रधानमन्त्री देउवा र एमाले अध्यक्षा ओली भेट

केन्द्रभाग मिडिया

काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री भएपछि पहिलोपटक देउवा ओलीलाई भेट्न बालकोटस्थित निवासमै पुगेका हुन् । भेटमा संसद अवरोध खुलाउने विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ ।

विश्वस्त स्रोतका अनुसार भेटमा संसद खुलाएर एमसीसीबारे अगाडि बढ्नेबारे पनि कुराकानी भएको छ । तर, ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाएको बुझिएको छ । उनले सापकोटाले एमालेका १४ पूर्व सांसदको पदमुक्तिको सूचना टाँस गर्नुपर्ने विषय उठाउँदै आएका छन् ।

यसै हप्ता काँग्रेस नेता रामचन्द्र पौडेलले पनि ओलीलाई बालकोट पुगेर भेटेका थिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीमा रहेका सांसदलाई सभामुखले कारबाही नगरेसम्म बैठकमा अवरोध गर्ने बताएका छन् । एकीकृत समाजवादी पार्टीका सांसद उपस्थित भएको संसद् र बैठकमा उपस्थित नहुने एमालेको अडान छ ।

  • २४ पुष २०७८, शनिबार १७:२५ प्रकाशित