१६ महिना त्रिपालमुनि रहेको रेल परीक्षणका लागि गुडाइयो

केन्द्रभाग मिडिया

जनकपुर ।
करिब १६ महिनादेखि थन्किएको रेलेको दोस्रो परीक्षण गरिएको छ। धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनर्वा स्टेशनमा उक्त रेल डेढ वर्षदेखि त्रिपालमुनि रहेको थियो।

रेल्वे ट्रयाक्क र रेलको इन्जिनको अवस्था बुझ्न इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल गुडाइएको हो। यसअघि सरकारले भारती रेल्वे कम्पनी कर्पोरेसनबाट (कोंकण)बाट किनेर पहिलो परीक्षण गरेको थियो।

गत वर्ष ३ असोजमा उक्त रेलले नेपाली भूमी टेकेको थियो। कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए।

नेपाली रेलको ट्रयाक्क निर्माण भए पनि उक्त रेल अझैसम्म सञ्चालन हुन सकेको छैन। नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले रेल गुडाउने सम्पूर्ण तयारी पूरा भएको बताए। उनले सबै कुरा मिले १० फेब्रुअरीदेखि रेल गुडाउने तयारी रहेको बताए। ‘रेलको इन्जिनको अवस्था, रेल्वे ट्र्याकको अवस्था आदि परीक्षणका लागि आज रेल गुडाइएको हो,’ झाले भने।

उनका अनुसार रेलको शुभारम्भव नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा गर्ने तयारी रहेकाले केही ढिलाइ भइरहेको बताए। ‘दुई देशको प्रधानमन्त्रीले नै रेलको उदघाटन गर्ने भएकाले समय लागि रहेको छ,’ उनले भने।

  • २४ पुष २०७८, शनिबार १६:३१ प्रकाशित