प्रचण्डसहित आधा दर्जन माओवादी नेतालाई सङ्क्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित आधा दर्जन नेतालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमण पुष्टि भएपछि हालै सम्पन्न माओवादी महाधिवेशनका १,७०० सहभागी सबैलाई कोरोनाभाइरस परीक्षण गर्न भनिएको माओवादी पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताएका छन्।

माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको ढकालले जानकारी दिए।

पीसीआर परीक्षण गराउनु र स्वास्थ्य मापदण्ड अपनाउनु भनेर सबैलाई कडाइपूर्वक नै भनिएको छ, ढकालले भने।
कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बिहीवारदेखि नै अतिआवश्यक बाहेकका काम बन्द गरिएको छ।

शुक्रवार गरिएको एन्टिजन र पीसीआर परीक्षणमा पूर्वप्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई पनि सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ।

उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। स्वास्थ्य अवस्था सामान्य छ, उनको सचिवालयले एक विज्ञप्तिमा भनेको छ।

स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेसनमा रहनु हुनेछ। कोभिड–१९ को कारण उहाँका केही पूर्वनिर्धारित कार्यक्रममा उहाँको सहभागिता हुन नसकेकोमा हामी दुखी छौँ।

प्रधानमन्त्रीसँग शुक्रवार भेट
प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रवार मात्रै माओवादी अध्यक्ष प्रचण्डसँग भेट भएको थियो।

सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रधानमन्त्री निवास बालुवाटारमा जरुरी बाहेकका भेटघाट कम गरिएको प्रधानमन्त्री देउवाका निजी सचिवालयका गोविन्द परियारले जानकारी दिए।

पनि पाँच दलीय गठबन्धनको बैठकमा आउनुभएको थियो। मास्क चाहिँ सबैले प्रयोग गर्नुभएको थियो परियारले भने।

प्रधानमन्त्री देउवा शनिवार बिहानै एमाले अध्यक्ष केपी ओलीसँग भेट्न बालकोट पुगेका छन्।

प्रधानमन्त्री देउवाले यसअघि बालुवाटारमा राख्ने गरेका प्रकाशकीय बैठकहरू सिंहदरबारमा राख्दै आएका छन्।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले बालुवाटारमा पछिल्लो समय सतर्कता थप बढाइएको जानकारी दिए।

  • २४ पुष २०७८, शनिबार १६:२९ प्रकाशित