भक्तपुर ।
खानेपानीका जारभित्र कीरा र लेउ भेटिएको छ ।
काठमाडौँ उपत्यकाको चाँगुनारायण नगरपालिका ३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनको क्रममा पानीको झारमा किरा र लेउ भेटिएको हो । हैजाको महामारी फैलिएको वर्तमान समयमा सर्वसाधारणले पैसा तिरेर पिउने पानीमाथि पानी उत्पादन कम्पनीले अत्यन्तै लापरवाही गरेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा खानेपानी कम्पनी अनुगमनका क्रममा यस्तो लापरवाही भेटिएको हो । सर्वसाधारणले प्रति बोतल तथा जारलाई रु २० देखि रु ५० सम्म तिरेर पिउँदै आएका यहाँका विभिन्न खानेपानी कम्पनीले अत्यन्तै पुराना जार, कुहिएको लेउसमेत भेटिएका जारलाई अनुगमन टोलीले नष्ट गरेको छ ।
विभिन्न ब्रान्डका खानेपानीको जारभित्र कीरा र लेउ भेटिएको जनगुनासो बढेपछि जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता महासङ्घ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायत विज्ञ र सरोकारवाला निकायसहितको टोलीले अनुगमन गरी खानेपानीमा लापरवाही भएको पाइएको हो ।
खानेपानी उद्योगहरूको गम्भीर गल्तीका कारण जनतालाई कीरा खुवाएर मानवीय स्वास्थ्यसँग गम्भीर खेलवाड गरिरहेको समेत पुष्टि भएको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले बताए । त्यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउने उनले बताए । अनुगमनका क्रममा पानी उद्योगबाट दुईवटा उद्योगको पानी परीक्षणका लागि नमूना सङ्कलन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ ।
यस प्रति तपाइको धारणा के छ ?