काठमाडौं ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा बुझाएसँगै उनको स्थानमा अब एआइजी को बन्ला भन्ने चासो बढ्न थालेको छ ।
सोमबार नेपाल प्रहरीको प्रशासन विभागमा पोखरेलले राजीनामा बुझाएसँगै प्रहरीभित्र नयाँ एआइजीको चर्चा सुरु भएको हो ।आफु भन्दा कनिष्ठ प्रहरी महानिरीक्षकको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरी नियुक्ति खारेजीको माग गरेका विश्वराजको रिटलाई सर्वोच्चले खारेज गरिदिएपछि उनले आज (मंगलबार)बाट लागु हुने गरी राजीनामा बुझाएका हुन् ।
उनको राजीनामा प्रहरी महानिरीक्षकले अघि बढाएर गृहमन्त्रालय हुँदै अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी पदमुक्त हुनेछन् । प्रक्रिया पुरा भएसँगै उनको स्थानमा एक एआइजी पद रिक्त रहने छ ।
हाल डिआइजीमा बढुवा भएकाहरूबाहेक हालका आइजीपी धिरजप्रताप सिंहका ब्याजका ३ जना सिनियर डिआइजीहरु नलप्रसाद उपाध्याय, महसुद आलम खाँ र मोहन आचार्य एआइजीका दाबेदार हुन् । त्यसपछि हालसालै एसएसपीबाट डिआइजीमा बढुवा भएकाहरू पनि एआइजी बढुवाको प्रतिस्पर्धामा रहेका छन् ।
चारजना डिआइजीलाई एकैपटक कात्तिक महिनामा एआइजी बनाएको खण्डमा सिनियर तीनजना डिआइजीबाहेक एकजना हालसालै डिआइजी भएकाबाट बढुवा हुनेछन् । हालसालै डिआइजीमा बढुवा भएकामध्ये एक नम्बरका वसन्त कुँवर, दुई नम्बरका टेकप्रसाद राई, तीन नम्बरका अशोक सिंह, चार नम्बरका दीपक थापा र पाँच नम्बरका श्यामलाल ज्ञवाली पनि एआइजीका दाबेदार हुन् ।
यस प्रति तपाइको धारणा के छ ?