नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट आफुहरुलाई धोका भएको निष्कर्ष निकालेको छ । निर्वाचनबारे समिक्षा गर्न बसेको सचिवालय बैठकले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको भन्दै धोका भएको निष्कर्ष निकालेको हो ।
नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत नदिएको निष्कर्ष पार्टीले निकालेको हो । स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई सँगसँगै नहाइटाएको समीक्षा गरेको बैठकले तत्काल वामपन्थी एकताका बारेमा पनि छलफल गर्ने निर्णय गरेको छ ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनप्रति आफ्नो पार्टीमा असन्तुष्टी मात्र नभई बेहद असन्तुष्टि भएको बताएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन आबद्ध दलको सहयोग नभएको र यसले गठबन्धनलाई अगाडि बढाउन निर्मम समीक्षा गर्नुपर्ने देखिएको बताए ।
यसैबीच एसले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि सात वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ ।
५ दिन भित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना सङ्कलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
यस प्रति तपाइको धारणा के छ ?