काठमाडौं ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मतसंकेत हुने गरि फेसबुकमा फोटो पोष्ट गरेका छन् ।
गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने तस्वीर फेसबुकमा पोस्ट गरेका हुन् ।
पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्नमा मतदान गरेको प्रस्ट देखिन्छ ।
निर्वाचन आयोगले मतदान केन्द्रमा मोवाइल लैजान निषेध गरेको छ । तर भट्टराईले भने मतपत्रमा स्वस्तिक छाप लगाएको फोटोसमेत सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको तस्बिरमा मत संकेत प्रस्ट देखिएको छ । उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोरखा पानपास्थित अन्नपूर्ण माविको बुथमा बिहान ८: २५ बजे मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्य निर्वाह गरियो । सबैले मतदान गरौँ, स्थानीय लोकतन्त्र सुदृढ गरौँ ।’
मत संकेत सार्वजनिक गर्न नहुने कानुनी व्यवस्था रहेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ । त्यसो गरिएमा मतदान अधिकृतले जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।
यस प्रति तपाइको धारणा के छ ?