काठमाडौं।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एसका अध्यक्ष माधव नेपालको रोनाधोना सुरु भएको बताएका छन् ।
ज्ञवालीले पार्टीलाई घात गरेर माधव नेपालले विपक्षी नेतालाई प्रधानमन्त्री बनाएको आरोप लगाएका छन् । उनले पार्टीलाई घात गरेकाले उनको रोनाधोना अझै चर्को हुने बताए ।
उनले भने, ‘माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी बेच्न हिँड्नुभएको छ । अहिले उहाँको रोनाधोना सुनिएको छ । उहाँले पार्टीलाई घात गर्नुभयो । विपक्षी पार्टीको नेतालाई भोट हालेर प्रधानमन्त्री बनाउनुभयो । उहाँले त्यसको दण्ड त भोग्नु नै छ । त्यसैले उहाँ अहिले गठबन्धनभित्रै खोटा सिक्काका रुपमा परिणत हुनुभएको छ ।”
ज्ञवालीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नाममा आफ्नै पार्टीको भविष्य बरबाद पारेको आरोप लगाएका छन् ।
प्रचण्ड र देउवाको स्वार्थ मिलेकाले अहिले गठबन्धन भएको उनले भनाई छ । उनले भनेका छन् , ‘यो घिउ बेचुवा र तरबार बेचुवाको गठबन्धन हो । यसलाई आम कार्यकर्ताले स्वीकारेका छैनन् । देउवाले आफ्नै पार्टीको भविष्य बरबाद पारिदिनुभयो । आफ्नो चुनाव चिह्नमा भोट हाल्न पाऊँ, जित हार सहन बेहार्ने तयार छौं भन्दा पनि दिनुभएन ।’
उनले भोलि परिणाम अनुकुल नभएपछि एकले अर्कालाई धारे हात लगाउँदै गठबन्धन टुट्ने बताए ।
यस प्रति तपाइको धारणा के छ ?