काठमाडौं ।
निर्वाचन आयोगले आज साँझ सम्ममा आगामी निर्वाचनका देशभरका उम्मेदवारको नामावली प्रकाशन गर्ने बताएको छ।
विद्युतीय माध्यमबाट डाटा सेन्टरमै डाटा पठाउन लगाएर आज(मंगलबार)साँझसम्ममा सबै स्थानीय तहका उम्मेदवाहरुको अन्तिम नामावली र राजनीतिक दल तथा पद पनि उल्लेख हुने गरी नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
यदि निर्वाचन अधिकृतको कार्यालयबाट विद्युतीय माध्यमबाट अन्तिम नामावली प्राप्त हुन नसकेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा फोन सम्पर्क गरेरसमेत अन्तिम नामावली लिई प्रकाशन गर्ने तयारी गरिएको छ । आयोगका अनुसार मंगलबार साँझ वा ढिलोमा बुधबारसम्म सबै स्थानीय तहका उम्मेदवारहरुको नाम, उम्मेदवारी दिएको पद, सम्बद्ध राजनीतिक दल र लिङ्ग खुल्ने गरी आयोगकै वेभसाइटमा अन्तिम नामावली प्रकाशन गरिनेछ ।
स्थानीय तह निर्वाचनको मिति आउन १० दिनमात्रै बाँकी रहँदा पनि निर्वाचन आयोगको वेभसाइटमा देशभरका उम्मेदवारको नामावली, पद र दल उल्लेख गरी उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छैन । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि आयोगले एकीकृत रुपमा नामावली प्रकाशन गर्न नसकेको हो ।
आयोगले उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको मिति वैशाख १६ गतेलाई तोकेको थियो । सोही दिन आयोगले अन्तिम नामावलीको सूची निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिसकेको छ ।
तर देशैभरबाट हेर्न मिल्ने गरी निर्वाचन आयोगको वेभसाइटमा भने अझै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छैन । यतिमात्रै नभइ उम्मेवारको संख्या, फिर्ता लिनेको विवरणलगायत समेत एकिनका साथ खुलाइएको छैन ।
जिल्ला जिल्लाबाट अन्तिम नामावली आउन समस्या परेको कारण समयमै उम्मेदवारहरुको नामावली प्रकाशन हुन नसकेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘हामी अहिले पनि उम्मेदवारहरुको नाम, राजनीतिक दल, पद, लिङ्ग आदि खुलाएर वेभसाइटमा प्रकाशन गर्ने तयारीमै छौँ । अहिले पनि हामीले ती विवरणहरु अपलोड गर्ने काम गरिरहेका छौंँ । तर कतिपय जिल्लामा विद्युतको अवरोध र कर्णाली प्रदेशका केही जिल्लामा इन्टरनेटमा समस्या देखिएको कारण तथ्यांक अपलोड हुन नसकेको हो ।’
यस प्रति तपाइको धारणा के छ ?