पोखरा ।
पोखरा महानगरपालिकामा नेकपा एमालेका तर्फबाट उपमेयर पदकी उम्मेदवार मञ्जुदेवी गुरुङ्गले यसपाली पनि पोखरेलीले एमालेलाई नै रोज्ने विश्वास व्यक्त गरेकी छिन् ।
एमालेलाई पोखराको जनताको अपार माया रहेको दाबी गर्दै उनले फेरी पनि पोखरेलीको रोजाईमा एमाले पर्ने विश्वास व्यक्त गरेकी हुन् । यसपटक मतदाताहरुले एमाले उम्मेदवारहरुलाई आत्मीयताका साथ न्यानो स्वागत गरेको उनले बताएकी छिन् ।
घरदैलोका क्रममा आफुले जनताबाट अपार माया र सद्भाव पाएको उनले बताएकी छिन् । ‘यो पाँच वर्षे कार्यकालमा म जनताको घर घरमा पुगेकी छु, उनीहरुको पिर, मर्का, समस्या बुझेकी छु, अब उनीहरुको सम्बोधन कसरी गर्ने पनि सोंचेकी छु ’ उनले सुनाइन् ।
नेकपा एमाले प्रचार बिभागले गरेको स्थानिय तह निर्बाचन केन्द्रीत फेसबूक लाइभ कार्यक्रममा बोल्दै उनले अबको पोखरा कस्तो बनाउने भन्ने योजना एमालेसंग भएको दावी गरिन् । उनले भनिन् ‘हामीसंग पोखराको त्रि–वर्षिय योजना छ, योजनामा पोखराका भावी कार्यक्रमहरु समेटिएका छन्’।
पछिल्लो समय पोखराको कार्यबाहक मेयर बनेर जिम्मेवारी समेत सम्हालेकी गुरुङ्गले आफु न्यायिक समितिमा रहेर काम गर्दा ‘न्याय नपाए पोखरा जानु’भन्ने वातावरण बनाएको उल्लेख गरिन्। नगरको आर्थिक विकासका लागि करको दर होइन, दायरा बढाएर अघि बढ्नुपर्ने औल्याइन् । साथै नागरिकलाई पनि कर तिरेको महशुस हुने वातावरण श्रृजना गर्नुपर्ने उल्लेख गरे ।
यस प्रति तपाइको धारणा के छ ?