एक्लै चुनाव लड्ने बताएको नेकपा एमालेले निर्वाचन नजिकिदैँ गर्दा धमाधम चुनावी तालमेल गरेको छ । बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलको निर्णय भएको छ ।
बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने गरी सहमति भएको हो । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेले समर्थन गरेका छन् ।
यो सहमतिपछि बागलुङको मेयरमा राप्रपा उम्मेदवार सञ्जु नेपाली र उपमेयरमा एमाले उम्मेदवार पवित्रा रोकाले मनोनयन फिर्ता लिने सहमति भएको दुबै दलका नेताहरुले बताएका छन् ।
त्यस्तै राप्रपाले केही वडा सदस्य पनि पाएको छ । बागलुङ नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर २, ३, ४, ७, ११, १२ र १३ नम्बर वडामा एक एक वडा सदस्य राप्रपाले पाएको छ । अन्य पदम भने राप्रपाले एमाले उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।
यस प्रति तपाइको धारणा के छ ?