नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालय स्थापना

केन्द्रभाग मिडिया

पोखरा । नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा बनेको नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दल कार्यालय सिंहदरबारमा स्थापना गरिएको छ।

संघीय संसद् सचिवालयले भवन नम्बर १ को दोस्रो तलामा नेपाल नेतृत्वको समाजवादी दलको कार्यालय स्थापना गर्न दिएको हो।
संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट मान्यता पाएसँगै एकीकृत समाजवादीलाई संसदीय दलको कार्यालय उपलब्ध गराएको हो।

पार्टीका सांसद् जीवनराम श्रेष्ठले दलको कार्यालयबारे खुलेको जानकारी दिएका छन्। पार्टीको संसदीय दलको पहिलो आइतवार बैठकले अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाएको छ।

निर्वाचन आयोगबाट दलको मान्यता पाएको केही दिनमै समाजवादीले दलको कार्यालय पाएको हो।
एमालेबाट विभाजित भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भदौ ९ गते आयोगबाट दलको मान्यता पाएको थियो।

अर्कातिर नेकपा एकीकृत समाजवादी ले पार्टी गठन भएको एक सातासम्म पनि पार्टीको केन्द्रीय कार्यालयको टुंगो लगाउन सकेको छैन।
यो दल निर्वाचन आयोगमा दर्ता गर्दा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको विवरण बुझाइएको थियो।

अहिले नयाँ बानेश्वरको अर्याल होटल र होटल छेउको स्कुलबाट नेपालले पार्टी सम्पर्कको काम गरिरहेका छन्।
बानेश्वर आसपास कार्यालय नभेटिएपछि नेपाल पक्षले बबरमहल र बिजुली बजार क्षेत्रमा घर खोजिरहेको छ।

  • १५ भाद्र २०७८, मंगलवार १५:१६ प्रकाशित