रवीन्द्रलाई लिङदेनको पार्टी एकता प्रस्तावः होला त एकता ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ ।

दुई अध्यक्षबीचको भेटवार्ताले राजनीतिक वृत्तका सबैको ध्यान खिचेको छ । अध्यक्ष लिङदेनले भेटमा मिश्रसामु पार्टी एकताको प्रस्ताव अघि सारेको स्रोतले बताएको छ ।

समान विचार धारा भएका पार्टीहरुसँग एकता गर्ने पार्टीको नितिअनुसार नै मित्रलाई भेटेको बताइएको छ। अध्यक्ष लिङ्देन महामन्त्री डा धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार बिहान उनकै निवासमा पुगेका हुन् ।

सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ ।अहिले एकताका लागि छलफल प्रारम्भ भएकाले र आगामी दिनमा थप छलफल गरेर अघि बढ्ने विषयमा दुबै नेता सहमत भएका छन् ।

भेटपछि मिश्रले पनि ‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद’ भेटेर सामाजिक सञ्जालमा तस्बिर शेयर गरेका छन् । उनले लिङ्देन र राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको प्रतिक्रिया दिएका छन् ।

‘आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुबैप्रति आभारी छु’, उनले भनेका छन् ।

  • १६ पुष २०७८, शुक्रबार १४:१२ प्रकाशित