हुस्सु र कुइरोले विमान अवतरण हुन सकेनः ७ विमान आकाशमै फन्को मार्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् ।

भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर हुस्सुका कारण यति भिजिबिलिटी नभएको विमानस्थलले जनाएको छ ।

बाक्लो कुहिरो र हुस्सुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प भएपछि ७ वटा अन्तराष्ट्रिय विमानले आकाशमा फन्को मारिरहेका छन् । काठमाडौँको विमानस्थल हुस्सुले ठप्प भएपछि जजिरा एयरलाइन्सका दुई, हिमालय एयरलाइन्सका तीन र कतार तथा फ्लाई दुबईका एक एक विमानले निजगढको आकाशमाथि फन्को लगाइरहेका हुन् ।

बिहान सबैभन्दा पहिले आएका जजिरा एयरलाइन्सका दुई विमान जिनगढको आकाशमाथि होल्ड भएका थिए । त्यसपछि हिमालय एरलाइनसको विमान थपियो । त्यसको केही समयमा कतार र फ्लाई दुबईको विमान निजगढको आकाशमाथि फन्को लगाउन पुगेका हुन् ।

केहीबेरअघि हिमालय एयरलाइन्सका थप दुई विमान पनि निजगढको आकाशमाथि फन्को लगाइरहेका छन् । हुस्सुका कारण भिजिबिलिटी कम भएपछि विमान आकाशमै फन्को लगाउन बाध्य भएका हुन् । हुस्सुका कारण आन्तरिक विमान पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्न सकेका छैनन ।

यसरी फन्को लगाइरहेका धेरैजसो विमान कतारको दोहाबाट आएका हुन् ।

  • १६ पुष २०७८, शुक्रबार ०९:४२ प्रकाशित