चैत महीना भित्र काठमाडौंमा मेलम्चीको पानी झार्ने कार्य योजना

केन्द्रभाग मिडिया

 

पोखरा । वाढीले क्षतिग्रस्त मेलम्चीको पानीलाई हालै पेश गरिएको कार्ययोजनामा तीव्र गतिमा काम गरे चैत महिना भित्र अस्थायी रूपमा काठमाडौंमा झार्न सकिने उल्लेख गरिएको छ ।

मेलम्ची खानेपानी आयोजना मर्मत गर्न अढाइ अर्ब खर्च लाग्ने अनुमान मन्त्रालयमा गरिएको छ।
त्यसका लागि मेलम्ची खानेपानी आयोजनामा रहेका दुइटा अस्थायी सुरुङ मर्मत गर्नुपर्ने, हेडवर्क्स मर्मत, मोटरेबल पुल मर्मत लगायत छन्।

मेलम्ची खानेपानी आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार सडक विभाग र नेपाली सेना समेतको सहयोग लिएर काम गरे चैतसम्ममा अस्थायी रूपमा पानी काठमाडौं झार्न सकिन्छ।

‘हामीले कार्ययोजना पेश गर्दा मुख्य(मुख्य क्षतिको विवरण उल्लेख गरेका छौं, बाढीले अकल्पनीय क्षति गरेका कारण मर्मतको लागत बढ्न पनि सक्छ,’ उनले भने।

उनका अनुसार अस्थायी रूपमा बनाइएको हेडवर्क्सको दसदेखि पन्ध्र मिटर क्षेत्रमा मेलम्ची नदीले बालुवा(गिट्टी, लेदो थुपारेको छ। हेडवर्क्सलाई मर्मत गरेर चलाउन सकिन्छ भन्ने अनुमानका आधारमा कार्ययोजना पेश गरिएको छ।

‘तर, नयाँ बनाउनुपर्ने वा अस्थायी रूपमा अर्को ठाउँमा बनाउनुपर्ने भयो भने पनि लागत बढ्ने र समय बढी लाग्ने हुन सक्छ,’ पन्तले केन्द्र खवरसँग भने।
उनका अनुसार मेलम्चीको मुख्य सुरुङमा क्षति भएको छैन। तर, अम्बाथानको २९८ मिटर लामो अस्थायी सुरुङमा लेदो थुप्रिएको छ। त्यसलाई सफा गर्नुपर्ने भएको छ।

त्यसैगरी, २१० मिटर लामो हेडवर्क्स र डाइभर्सनबीचको अस्थायी सुरुङमा पनि लेदो थुप्रिएको छ। त्यसलाई सफा र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्ययोजना छ।
मेलम्ची छिर्ने मुख्य प्रवेश मार्गमा तीन वटा पुल, अम्बाथान र त्यसभन्दा पारिपट्टि अर्को गरेर पाँच वटा अस्थायी पुल निर्माण गर्नुपर्ने भएको छ।

मेलम्चीमा आएको बाढीले पहिले भएका चार वटा मोटरेबल पुल बगाइदिएको छ।
‘मोटरेबल पुल बनाउन र नदी किनारमा थुप्रिएको बालुवा(गिट्टी सफा गर्न नेपाली सेनासहित सडक विभागको सहायताको अपेक्षा गरिएको छ,’ पन्तले भने।

मेलम्ची बजारदेखि हेडवर्क्ससम्म पुग्ने करिब पाँच किलोमिटर सडक नयाँ निर्माण गर्नुपर्ने भएको छ।
‘यी मुख्य क्षतिलाई विश्लेषण गरी हामीले कार्ययोजना पेश गरेका छौं,’ पन्तले भने।
उनका अनुसार अस्थायी सुरुङ कति टालिएको छ, गेटहरूमा कति क्षति भएको छ भन्ने आकलन पनि कार्ययोजनामा छ।
अहिले मेलम्ची बजारदेखि माथि बिजुली नभएका कारण नयाँ पोलहरू गाडेर बिजुली लैजानुपर्ने वा त्यही सोलार प्यानल जडान गर्नुपर्नेबारे अवस्था रहेको पन्तले बताए।

कार्ययोजनामा मेलम्चीलाई अस्थायी रूपमा सञ्चालन गर्ने भन्ने मात्र छ। तर, मेलम्चीको मुहानमा रहेको हिमपहिरोले थुपारेको थेग्रिनीको जोखिमबारे भने कार्ययोजनामा उल्लेख छैन।

यसबारे अलग्गै अध्ययन गर्नुपर्ने भएकाले कार्ययोजनामा नराखिएको आयोजनाको भनाइ छ। अर्को साल वर्षामा पुनस् थेग्रिनी बगेर आए मेलम्चीलाई क्षति गर्न सक्ने छ।
खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको माथिल्लो भाग थ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको समग्र भौगर्भिक अध्ययन गर्न एसियाली विकास बैंक ९एडिबी०लाई लगाउने भएको छ।

खानेपानी मन्त्रालयले साउनमा एडिबीलाई पत्र लेख्दै अध्ययन गरिदिन अनुरोध गरेको थियो।
खानेपानी मन्त्रालयका अनुसार एडिबीले के के काम गर्ने भनी टिओआर पठाएको छ। सोबारे मन्त्रालयमा छलफल भइरहेको मन्त्रालयका प्रवक्ता सहसचिव रमेश न्यौपानेले बताए।

 

  • १५ भाद्र २०७८, मंगलवार १४:११ प्रकाशित