सिन्धुपाल्चोक एमाले जिल्ला अधिवेशनः यी हुन् अध्यक्ष र सचिवका आकांक्षी(नामावलीसहित)

केन्द्रभाग मिडिया

चौतारा ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा होमिएको छ । नवौं जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा आगामी नेतृत्वका लागि नेताहरूले लबिङ सुरु गरेका छन् ।

वडा, पालिका हुँदै केन्द्रीय अधिवेशनसम्म आइपुग्दा सर्वसम्मत नेतृत्व छनोट गरेको एमालेको नवौं जिल्ला अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व छनोटका लागि नेताहरूले कसरत गरेका छन् । गुट अन्त्य भएर एकताबद्ध एमाले निर्माणका लागि नेताहरूले अभियान सुरू गरे पनि भित्रीरूपमा भने आफूनिकटका नेतालाई आगामी नेतृत्वमा ल्याउनका लागि केन्द्रीयस्तरका नेताहरू लागिरहेका छन् ।

वर्तमान अध्यक्ष झम्क नेपाल नेतृत्वबाट बिदा हुँदैछन् । नेपालको बिदाईसँगै आगामी कार्यकालको अध्यक्षका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले अध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै अध्यक्षमा वर्तमान सचिव एवं लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल पनि आकांक्षी छन् । त्यस्तै बालकृष्ण देउजा पनि यसपटक अध्यक्षको दाबेदार हुन् ।

अध्यक्षपछि अर्का शक्तिशाली पद सचिवमा पनि धेरैले आकांक्षा व्यक्त गरेका छन् । वर्तमान उपसचिव सूर्य लामा, अनेरास्ववियूका पूर्वअध्यक्ष जेपी सिलवाललगायतका नेताहरू सचिवमा उमेदवारी दिने बताएका छन् ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका कृष्णगोपाल तामाङ पनि सचिवको आकांक्षी छन् । केही दिनअघि सम्पन्न एमालेको जिल्ला कमिटीको बैठकले पुस २३ गते बाह्रविसेमा नवौं जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।

  • १५ पुष २०७८, बिहीबार १५:२२ प्रकाशित