तमु ल्होसारले बृहत् राष्ट्रिय एकतालाई सुदृढ गर्नेछः राष्ट्रपति भण्डारी

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गरेकी छिन् । उनले ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छिन् ।

उनले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन् ।

‘मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रर्वद्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ’, सन्देशमा भनिएको छ ।

राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गरिन् । गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यस पर्व मनाउने गर्छन् । सो समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व मनाउने गरिन्छ ।

  • १५ पुष २०७८, बिहीबार ०८:४८ प्रकाशित