अरुलाई लुटेर पैसा कमाउने प्रवृत्तिको अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा आरुलाई लुटेर पैसा कमाउनृ प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले उद्यमी युवाहरुलाई सरकारले नै प्रोत्साहन दिनुपर्ने बताए। सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाएको हुनाले मानिसहरुमा आत्मविश्वास बढ्न नसकेको उनको दाबी छ ।

अध्यक्ष नेपालले दलाल पुँजीको दबदबा बढिरहेकाले देशमा मिहिनेत नगरिकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरुलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताए । उनले शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्ने भन्दै केन्द्रीय सरकारले प्रादेशिक र प्रदेश सरकारले स्थानीय सरकारका काम कारबाहीमा निगरानी राख्न आवश्यक रहेको बताए । उनले पार्टीले पनि आफ्ना कार्यकर्ताहरुले कसरी काम गरिरहेका छन् भनेर अनुगमन गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अरु सरकार भन्दा यो सरकार फरक हुनुपर्ने कुरा राखेको र देशका प्राथमिकता र नीति बनाउने कुरामा विज्ञसँग सुझाव लिन सुझाएको बताए । अध्यक्ष नेपालले देश विकास गर्नका लागि आफैं अघि सरेर काम गर्न तयार रहेको भन्दै समस्याको समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।

उनले वंशानुगत तानाशाही प्रवृत्ति सकिसकेपनि व्यक्तिगत तानाशाही प्रवृत्ति देशमा हाबी भइरहको भन्दै यो सह्य नहुने बताए ।
उनले सुदूरपश्चिमको प्रदेशसभामा एक नम्बर पार्टीको रुपमा नेकपा समाजवादी स्थापित भएको दाबी समेत गरे ।

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा कसैले पनि आफ्नो पार्टीलाई बेवास्ता गर्न नसक्ने बताउँदै युवाहरुले देशमा आफूलाई योग्य र सक्षम देखाउनु पर्ने बताए ।

  • १३ पुष २०७८, मंगलवार १७:३७ प्रकाशित