पुस महिना लागेसँगै देशभर चिसो बढेको छ । जल तथा मौसव पूर्वानुमान महाशाखाको अनुसार यो साता चिसो अझ बढ्ने बताइएको छ। चिसो महिना लागेसँगै मुलुकमा न्यानो हुनको लागि बालिने हिटरले धेरैको ज्यान लिने गरेको छ ।
बन्द कोठाभित्र हिटर बालेर बस्दा अक्सिजन अभावमा निसास्सिएर धेरैले ज्यान गुमाउने गरेका छन् । तराई क्षेत्रमा कोठाभित्र बालिने आगोको कारण पनि धेरैको ज्यान गरेको छ ।यस्तै चिसो महिनामा तातो पानीका लागि राखिएको गिजर लिक हुदाँ पनि अप्रिय घटनाहरु घट्ने गर्छन् ।
गत साता सोमवार काठमाण्डूको बागबजारस्थित काठमाण्डू मोडेल कलेज (केएमसी) को छात्रावासमा एक विद्यार्थीको मृत्यु भयो। नुहाउने क्रममा बेहोस भएका उनलाई अस्पताल लग्दालग्दै मृत्यु भएको कलेजका प्रधानाध्यापक डा.नवीन्द्र बहादुर अर्यालले जानकारी दिए।
घटनालगत्तै कलेजका अन्य विद्यार्थी आन्दोलनमा ओर्लिए। उनीहरूले कलेजको होस्टलमा उचित हो भेन्टिलेशन नभएका कारण निसासिएर आफ्ना साथीको ज्यान गएको दाबी गरेका छन्। कलेज व्यवस्थापनले लापरबाही रहेको उनीहरूको आरोप छ।
चिसो छल्न प्रयोग गरिने विद्युतीय वा ग्यास हीटर तथा गिजरका कारण हरेक वर्ष यस्ता घट्ना घट्ने गर्छन। जाडो महिनामा त्यस्ता उपकरणको प्रयोगपछि दुर्घटनामा परी अस्पताल भर्ना हुने र मृत्यु हुनेको सङ्ख्या उल्लेख्य मात्रामा हुने चिकित्सकहरू बताउँछन्।
के कारण निसासिन्छन् मानिस?
ग्यासबाट चल्ने हीटर र गिजर चलाउँदा वा कोठाभित्र आगो बाल्दा त्यसबाट कार्बन मोनोक्साइड निस्किने विज्ञहरू बताउँछन्। जुन कोठा वा नुहाउने कोठामा फैलिन्छ। चिसो मौसममा कोठाको झ्यालढोका बन्द रहने भएकाले बाहिरबाट अक्सिजन भित्र पस्न पाउँदैन र भित्रबाट दूषित कार्बन मोनोक्साइडयुक्त हावा बाहिर जान पाउँदैन।
‘त्यसरी गुम्सिएको कोठामा फैलिएको कार्बन मोनोक्साइड हामी सासबाट लिन थाल्छौँ। त्यो मानिसको फोक्सोमा पुग्छ र फोक्सोबाट रगतका नलीमा गएर रातो रक्तकोषिकाको हेमोग्लोबिनसँग टाँसिन्छ’ डा.बम भन्छन्।
सामान्य अवस्थामा फोक्सोबाट आएको अक्सिजनलाई हेमोग्लोबिनले बाँधेर शरीरभरि पुर्याउँछ। तर अक्सिजनको साटो कार्बन मोनोक्साइड रक्तनलीमा गएपछि मुटु, मिर्गौला, कलेजो र मस्तिष्कसम्म पनि पुग्छ। ‘त्यसपछि मानिसमा निसासिने समस्या देखिन थाल्छ,’उनले भने।
कार्बन मोनोक्साइड शरीरका भागहरूमा फैलिएपछि सुरुमा टाउको गह्रुङ्गो हुने र दुख्ने, रिँगटा लाग्ने, आँखा तिरमिर हुने जस्ता समस्या देखिन्छन्। गाह्रो बनाउँदै जाँदा शरीर फतक्क गल्ने, बान्ता आउने, हात काँप्नेजस्ता समस्या आउने डा.बमले बताए।
‘समस्या भोगिरहेको मानिसलाई आफ्नो स्थितिबारे चेत हुँदैन। उनीहरू बाहिर निस्किन पनि सक्दैनन्। त्यसैले निसासिन्छन् र लामो समय अक्सिजन अभावमा रहँदा ज्यान जान सक्छ,’ उनले भने।
यस्तो दुर्घटना प्रायः गिजर प्रयोग गरी नुहाइरहेको वा हीटर बालेर सुतिरहेको अवस्थामा हुन सक्ने चेतावनी उनले दिए। ‘सुतेकाहरूको हकमा उनीहरू अर्धचेतनमा हुन्छन्। न रिँगटा लागेको थाहा पाउँछन् न टाउको दुखेको नै। त्यसैले बेहोस हुन्छन् र उठ्न सक्दैनन्।’
यी हुन अपनाउनुपर्ने सावधानी
-ग्यासबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।
-ग्यासबाट चल्ने हिटरलाई त्यस्तो ठाउँमा पनि राख्नुहुँदैन । जुन बाटोबाट बढी ओहोर दोहोर गरिरहनुपर्छ । अझ ध्यान पुर्याउनुपर्ने विषय के हो भने हिटरलाई बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । यसलाई कडा सतहको किनारमा राख्नुपर्छ ।
– समय-समयमा चलिरहेको हिटरलाई बन्द गरिरहनुपर्छ । र, हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ । हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ ।
-ग्यास गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने ।
-पाइपको माध्यमले तातो पानी बाथरूममा ल्याउने ।
-सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने ।