आज ज्येष्ठ नागरिक दिवसः ज्येष्ठ नागरिकमा सम्मानजनक व्यवहार गर्न राष्ट्रपतिको आग्रह

केन्द्रभाग मिडिया

आज ज्येष्ठ नागरिक दिवस, ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गरेकी छन् ।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी हुन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र उनीहरूको सहज जीवनयापनका लागि ठोस पहल गर्न सबैमा आग्रह गरेक छन्।

नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णयबमोजिम यस वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो ।

  • ११ पुष २०७८, आईतवार ०९:०५ प्रकाशित