‘राष्ट्रिय सम्मेलन’लाई ‘महाधिवेशन’मा परिणत गर्दै माओवादी केन्द्र

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा (माओवादी केन्द्रले) आफ्नो ‘प्रथम राष्ट्रिय सम्मेलन’लाई अन्ततः आठौं महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटी बैकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । त्यसलाई अहिले बिहान केन्द्रीय कमिटीको बैठक मार्फत अनुमोदन गर्ने समेत माओवादी केन्द्रले जानकारी दिएको छ ।

यसअघि २०६९ माघमा हेटौंडामा सातौं महाधिवेशन गरेकाले माओवादी केन्द्रले आज काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशन भन्ने भएको हो। शनिबार स्थायी कमिटीको बैठकपछि पेरिसडाँडामा पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको बताए ।

यसअघि माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गरेर नेतृत्व चयनभन्दा बढी विचारको बहस गर्ने भनेको थियो । तर देशभरबाट आएका सुझाव, शुभकामना र कार्यकर्तामा देखिएको उत्साहलाई ख्याल गर्दै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको उनले बताएका छन् ।

  • ११ पुष २०७८, आईतवार ०६:३३ प्रकाशित