पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीको साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की शाखाको २८ औं वार्षिक साधारणसभा बनभोज कार्यक्रमसहित सम्पन्न भएको छ । शनिबार पोखराको पामेमा सम्पन्न साधारणसभाको उद्घाटन गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान–प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरेका हुन् ।

साधारणसभाको उद्घाटन गर्दै उनले शिक्षाको क्षेत्रमा प्रदेश सरकारले राम्रो र उदाहरणीय कार्य गर्न चाहेको बताए । प्रदेशको शिक्षा नीति सार्वजनिक भएको भन्दै उनले स्टेशनरी व्यवसाय मर्यादित व्यवसाय भएकाले शिक्षा क्षेत्रको समग्र विकासमा पुस्तक तथा स्टेशनरी व्यवसायीको पनि महत्वपूर्ण भूमिका रहेको धारणा राखे । व्यवसायीले गर्ने सामाजिक विकासका काममा मन्त्रालयको सधैं साथ रहने उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष धनराज आचार्यले राज्यले स्वच्छ व्यवसायको वातारण बनाउनुपर्नेमा जोड दिए । उनले स्टेशनरी व्यवसायमा अन्य व्यवसायमा जस्तो मुनाफा नरहेको बताएका उनले राज्यले त्यही अनुरुप हेर्नुपर्ने धारणा राखे ।

महासंघका केन्द्रीय उपाध्यक्ष ऋषिराम भण्डारीले अहिले अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै व्यवसायीलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे । सरकारी कितावमा ९ प्रतिशत र निजी प्रकाशनका पुस्तकमा २० प्रतिशत नाफामा मात्र व्यवसायीले काम गर्नुपरेको उनले सुनाए । अझ त्यसमा पनि अस्वस्थ प्रतिस्पर्धाले व्यवसायीलाई टिक्न कठिन रहेको उनको भनाई छ ।

महासंघ कास्की शाखाका अध्यक्ष बैकुण्ठ प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा गण्डकी प्रदेश अध्यक्ष लीलाराम गौतम, प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव केशव बहादुर खत्री, महासंघ कास्कीका प्रथम उपाध्यक्ष कविन्द्र पोखरेल र सचिव प्रकाश वास्तोला लगायतले बोलेका थिए ।

साधारणसभा सचिव प्रकाश वास्तोलाले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद अधिकारीले पेश गरेको आर्थिक प्रतिवेदन पारित गर्दै समापन भएको हो ।

  • १० पुष २०७८, शनिबार १७:४६ प्रकाशित