नवनिर्वाचित काँग्रेस केन्द्रीय कार्यसमितिले गर्‍यो पाँच निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए।

थापाले इतिहासले सुम्पेको दायित्वलाई आत्मसात गरेर अझै सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउने संकल्प बैठकले गरेको बताए।
त्यस्तै बैठकले धन्यवाद ज्ञापन पनि गरेको छ। बैठकले यो अधिवेशनमा विभिन्न ठाउँबाट आएर नेपाली कांग्रेसलाई शुभेच्छा प्रकट गर्ने राजनीतिक दलका नेताहरुदेखि लिएर यो अधिवेशनलाई सम्पन्न गर्नको लागि पार्टीको विभिन्न तहमा रहेर काम गर्ने निर्वाचन समिति सञ्चारमाध्यम सबैलाई धन्यवाद प्रकट गर्ने निर्णय गरेको छ, उनले भने।

राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनका लागि नेपाली कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरुको पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दलको तर्फबाट आधिकारिक रुपमा हस्ताक्षर गरेर दलको सबै विवरण बुझाउने र अध्यावधिक गर्ने जिम्मा दिने निर्णय गरिएको छ।

  • १० पुष २०७८, शनिबार १५:१९ प्रकाशित