झलनाथ खनाललाई जेठी सासुकी छोरीले मिर्गौला दिईन्

केन्द्रभाग मिडिया

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको भन्दै मिर्गौला दाता, उपचारमा संलग्न चिकित्सक र आफ्नो उपचारका लागि सहयोग उपलब्ध गराएको सरकारलाई धन्यवाद दिएका छन् ।

भारतको नयाँ दिल्लीबाट सोमबार काठमाडौं आएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो शरीरमा प्रत्यारोपण गरिएको मिर्गौला नाताले छोरी पर्ने मेलिना चित्रकारले उपलब्ध गराएको खुलासा गरे ।

उनले आफ्नै दिदी ९जेठीसासु० को छोरीले आफूलाई मिर्गौला दान गरेको बताए । ‘छोरी मेलिना चित्रकारले आफ्नो सानोबालाई किड्नी दिन तयार रहेको खबर गरिन्,’ उनले भने, ‘छोरी मेलिना चित्रकारलाई अस्पतालमा बोलाएँ । आवश्यक सम्पूर्ण परीक्षणपछि उनको मिर्गौला मेरो शरीरका लागि उपयुक्त हुने ठहर भयो ।’

उनले छोरी मेलिनाप्रति आभार प्रकटसमेत गरे । उनले मिर्गौला प्रत्यारोपणपछि आफूले नयाँ जीवन प्राप्त भएको महसुस गरेको पनि बताए । ‘विल्कुलै नयाँ जीवन प्राप्त भएको महसुस गरेको छु,’ उनले भने, ‘यो नयाँ जीवन बोनस प्राप्त गरेको नयाँ जीवन बनेको छ ।’
उनले आफ्नो नयाँ जीवन लोकतन्त्र, संविधानको रक्षा, वैज्ञानिक नेपाली मोडलको समाजवादप्रति समर्पित हुने पनि जनाए ।

आफू ७० वर्ष कटिसकेकाले अब आफु पार्टीको कुनै कार्यकारी पदमा नबस्ने घोषणा समेत गरे ।
‘मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन । ७० वर्ष पुगिसकेको छु’ खनालको भनाइ छ । उनले कम्युनिस्ट आन्दोलन फुट र विभाजनमा जान नसक्ने भन्दै केपी ओलीको पार्टी गुट र अहंकार व्यक्तिवादको प्रतीक बनाएकाले आफुहरुले विद्रोह गर्नुपरेको पनि बताए ।

 

  • १४ भाद्र २०७८, सोमबार १७:१७ प्रकाशित