सभापतिमा पराजित कोइरालाको वरियता २० नम्बरमा, अन्य नेताको वरियता यस्तो छ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसले नेताहरुको वरियता क्रम सार्वजनिक गरेको छ । नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा राखिएको हो ।

कोइरालालाई वर्तमान र पूर्व पदाधिकारीपछिको वरियतामा राखिएको हो । विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ। वरियतामा देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा छन्। त्यसपछिको वरियतामा पदाधिकारीहरू छन्। कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन्।

कोइरालाले १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए । काँग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरियता दिने गरिएको थियो । १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरियतामा राखिएको थियो ।

वरियतामा धेरै पछाडि राख्ने थाहा पाएपछि कोइराला शनिबारको पहिलो केन्द्रीय समिति बैठकमा उपस्थित नभएको उनी निकट स्रोतले बतायो । कोइराला प्रमाण–पत्र वितरण समारोहमा पनि देखिएनन् ।

  • १० पुष २०७८, शनिबार १४:२५ प्रकाशित