देउवाले पहिलो बैठकमा मनोनित हुनेको नाम प्रस्ताव गर्ने, यी हुन् मनोनित हुने नेताहरु

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ। कांग्रेस पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा शीर्ष तहका नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गर्ने प्रस्ताव पेस हुने जनाइएको छ।

सभापति शेरबहादुर देउवाले महाधिवेशनपछिको पहिलो बैठकमा शिर्ष नेतालाई मनोनित गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका हुन्।

देउवापक्षका एक नेताका अनुसार रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह,विजय कुमार गच्छदार लगायतलाई मनोनित गर्ने सम्भावना छ ।

अघिल्लो कार्यसमितिमा वरिष्ठ नेता रहेका पौडेल १४ औं महाधिवेशनबाट टाँढा बसेका थिए। उनले मतदानमा समेत भाग लिएनन्।

त्यस्तै १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिटौलाले यसपटक कुनै पदमा पनि उम्मेदवारी दिएनन् र देउवालाई सघाएका थिए।

सभापतिमा पराजित भएका निधि र सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई साथ दिएका थिए । देउवा प्यानलबाट उपसभापतिका उम्मेदवार रहेका गच्छदार पराजित भए ।

निर्वाचित पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिले ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेपछि आजै पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने छ।

सभापतिले समावेशिताको आधारमा ३३ जना मनोनित गर्न सक्ने व्यवस्था छ। बाकीँ सदस्य भने पछि गर्ने देउवाको तयारी छ ।

  • १० पुष २०७८, शनिबार १२:३५ प्रकाशित