स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न मिति प्रस्ताव

केन्द्रभाग मिडिया

पोखरा ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न प्रस्ताव गरेको छ । निर्वाचन एकै पटकमा गर्न सकिने तर त्यसो हुन नसके दुई चरणमा गरिए पहिलो चरण आगामी बैशाख १४ र दोस्रो चरणको निर्वाचन २२ गते गर्न प्रस्ताव गरिएको निर्वाचन आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आयोगका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सकिने जानकारी गराएका हुन् ।

स्थानीय तहका पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।

संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कार्यकाल समाप्त भएपछि स्थानीय तह संचालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो ।

निर्वाचन तयारीका लागि आयोगलाई १२० दिन आवश्यक पर्ने आयोगले जनाएको छ । आयोगको प्रस्तावलाई आधार मान्दा प्रस्तावित निर्वाचन आउन १ सय २३ दिन बाँकी छ ।

  • १० पुष २०७८, शनिबार ०६:२९ प्रकाशित