काँग्रेस प्रदेश २ः निधिलाइ गृह प्रदेशमै धक्का, सभापतिमा देउवा पक्षीय कृष्ण यादव विजयी

केन्द्रभाग मिडिया

नेपाली काँग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् ।

सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन् । कृष्ण ९ सय ९६ मतसहित विजयी हुदाँ रामसरोज भने ८ सय ५५ मत ल्याउँदै १ सय ४१ मतान्तरले पराजित भएका हुन् ।

काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो । कृष्ण विजयी भएपछि निधिलाई आफ्नै गृहप्रदेशमै धक्का लागेको छ ।

रामसरोजलाई जिताउन निधि आफै मैदानमा खटेका थिए । निधिलाई कोइराला समूहको बलियो साथ थियो । कोइराला समूहका महामन्त्री गगन थापा पनि जनकपुर आएका थिए ।

कोइराला पक्षसँग मिलेर भएपनि निधिले प्रदेश २ आफ्नो पकडमा रहेको देखाउन चाहेका थिए । तर देउवा समूहसँग निधि कोइराला गठबन्धन पराजित भएको छ । यसले निधिलाई गृह प्रदेशमै धक्का लागेको हो ।सभापतिमा कृष्ण निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ ।

  • ९ पुष २०७८, शुक्रबार ०८:२८ प्रकाशित