महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेपछि उपेन्द्र यादव तनावमा

केन्द्रभाग मिडिया

पोखरा । महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेपछि उपेन्द्र यादव तनावमा परेका छन् ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि महन्थलाई ठूलो राहत मिल्यो । उनले तुरुन्तै लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे । अध्यादेश जारी गरेर पार्टी खोल्ने अवसर मिलाइ दिएकोमा महन्थ प्रधानमन्त्री शेरबहादुर देउवासँग निकै खुसी छन् ।

सोही कारण वर्तमान सरकारमा लोसपा पनि सामेल हुने गृहकार्य भइरहेको छ । केही अघिसम्म जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी कब्जा गरेर महन्थ ठाकुरलाई घरको न घाटको बनाएका थिए । ठाकुरसँग न पार्टी थियो, न त सांसद पद जोगिने अवस्था नै ।
तर, सबैभन्दा तनावमा अहिले उपेन्द्र यादव परेका छन् । महन्थ ठाकुरले नयाँ पार्टी खोलेपछि आफ्ना कार्यकर्ता जोगाउनै उनलाई धौ धौ परेको छ ।

सोही कारण अहिले उपेन्द्र संघीय सरकारमा मन्त्री छनोट गर्न छाडेर जिल्ला जिल्ला दौडिएका छन् । एकातिर जसपामै बाबुराम भट्टराई पक्षले उपेन्द्रलाई असहयोग गरिरहेको अवस्था छ । अर्कोतिर महन्थ र राजेन्द्र महतोले आफ्ना कार्यकर्ता चोर्ने डर उनमा छ ।

निर्वाचन आयोगले जसपा र एमालेका जनप्रतिनिधिलाई दल छान्न २२ दिनसम्मको समयसीमा तोकेपछि त्यसबेलासम्म कसरी आफ्ना कार्यकर्ता जोगाउने भन्ने चिन्ता उपेन्द्रमा देखिएको छ ।
त्यही भएर अहिले उनी अधिकांश समय काठमाडौं बाहिरै रहने गरेका छन् । गठबन्धनको बैठकमा समेत उपस्थित हुन छाडेका छन् ।

 

  • १४ भाद्र २०७८, सोमबार १४:०५ प्रकाशित