म्याग्दीको लुलाङगाउँ ४ महिनादेखि अन्धकारमय

केन्द्रभाग मिडिया

म्याग्दी ।

म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । पहिरोले बगाएको लघुजलविद्युत् परियोजनाको संरचना मर्मत नहुँदा धवलागिरी गाउँपालिका–२, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन् ।

गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत् परियोजना हालसम्म मर्मत हुन सकेको छैन । वडावासीले अन्धकारमा दैनिकी कटाउन बाध्य छन् ।

लमसुङ्गस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाएको थियो । बाढीले विद्युत्गृह, कुलो र पोल बगाएको थियो । संरचना पुनःनिर्माण नहुँदा स्थानीयवासी सोलार र टुकीको घरमा छन् ।

बाढीले विद्युत्गृहसँगै चार पोल र मुहानको बाँध तथा कुलो बगाएको लघुजलविद्युत् परियोजनाका सचिव लालबहादुर खड्काथोकीले बताए । बाढीले विद्युत्गृहका जेनेरेटरलगायत उपकरण बगाएको छ ।

विद्युत् आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङ्गलगायतका ३५४ परिवार प्रभावित भएका छन् । विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत्गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो ।

  • ७ पुष २०७८, बुधबार १३:२५ प्रकाशित