माओवादी केन्द्रमा दोस्रो नेताको खोजी, को पर्ला प्रचण्ड र पार्टीको रोजाइमा? यी हुन आकांक्षी!

केन्द्रभाग मिडिया

File photo

संसद्‌मा प्रतिनिधित्व गर्ने दुई ठूला राजनीतिक दलमा महाधिवेशनमार्फत् नेतृत्व चयनको विषय सेलाउन नपाउँदै आगामी साता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु  हुन लागेको छ।

नेपाली कांग्रेस पदाधिकारीमा युवा नेताहरूको उल्लेख्य उपस्थिति देखिए माओवादीमा भने पुरानै नेताहरू दोहोरिने आकलन गर्दै कतिपयले सामाजिक सञ्जालमा चर्चा गरेका छन्।

पार्टीको रणनीति र नेतृत्वबारे निर्णय लिने राष्ट्रिय सम्मेलनबाट नेकपा एमाले र नेपाली कांग्रेसमा जस्तै माओवादीमा पनि पुरानै पार्टी प्रमुख दोहोरिने निश्चितजस्तै रहेको माओवादी नेता र जानकारहरूको भनाइ छ।

माओवादी वृत्तमा पार्टीको अध्यक्षभन्दा पनि त्यसपछि शक्तिशाली मानिने महासचिव पदमा को आउँछ भन्ने विषयमा धेरैको चासो छ।

पुस ११ गतेदेखि १५ सम्म काठमाण्डूको प्रज्ञाभवनमा १,५०० प्रतिनिधिको उपस्थितिमा हुने राष्ट्रिय सम्मेलनले यसअघि जस्तै अध्यक्ष मात्रै चयन गरेर बाँकी पदाधिकारी चयन थाती राख्न सक्ने आशङ्का पनि कतिपयले गरेका छन्।माओवादीको अघिल्लो राष्ट्रिय सम्मेलनमा पनि सहमति हुन नसकेपछि पदाधिकारी पछि चयन गरिएको थियो।

प्रचण्डको विकल्प छैन

तीन दशकदेखि पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डको विकल्प आगामी सम्मेलनमा पनि नदेखिएको माओवादी नेता राम कार्की बताउँछन्।माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेता समेत नदेखिएको कार्कीको दाबी छ।

विगत १५२० वर्षदेखि नेपालको राजनीति विचारबाट निर्देशित भएर अघि नबढेको भन्दै उनले प्रमुख पार्टीहरूमा नेतृत्वलाई चुनौती दिन सक्ने नेता नजन्मिएको बताए।

प्रचण्डका समकक्षी नेताहरू माओवादीबाट बाहिरिँदा माओवादीमा प्रचण्डपछिको नेतृत्वका उत्तराधिकारी बन्न नसकेको बताइन्छ।सम्मेलनमा पार्टीको विचार, कार्यदिशा र सङ्गठनात्मक संरचनाबारे बहस हुने बताइएको छ।

माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था भए पनि अध्यक्षबाहेक अरू सबै पद रिक्त छन्।माओवादी नेतृत्व बहुपदीय हुने भनिए पनि त्यो कस्तो हुने टुङ्गो लाग्न नसकेको नेताहरूले बताएका छन्।

यी हुन् आकाङ्क्षी
माओवादी केन्द्रमा अहिलेसम्म चार जनालाई प्रचण्डपछि शक्तिशाली मानिएको छ । पूर्वमहासचिव कृष्णबहादुर महरा, सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा, पूर्वसचिव वर्षमान पुन र पम्फा भुसाल माओवादी महासचिवको दाबेदार भएको बताइन्छ । बीबीसीबाट

  • ६ पुष २०७८, मंगलवार १६:३७ प्रकाशित