मन्त्रिमण्डलले पूर्णता नपाउँदै प्रदेश १ सरकार संकटमा

केन्द्रभाग मिडिया

पोखरा । मन्त्रिपरिषद विस्तार भइ नसक्दै प्रदेश १ सरकार संकटमा परेको छ। गठन भएको दुई साता नबित्दै भीम आचार्य नेतृत्वको सरकार संकटमा परेको हो।

गत बिहीबार पदभार सम्हालेका आचार्यले एमालेका सांसदहरुलाई रोक्न नसक्दा समस्या भएको हो।
एमालेका करिब १० जना सांसदहरु माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लाग्ने भएपछि एमालेको एकल सरकार संकटमा परेको हो।

मुख्यमन्त्री आचार्यले शपथग्रहण गरेदेखि नै एकीकृत समाजवादीका नेता राजेन्द्र राईसहितका साँसदहरु सरकार ढाल्ने कसरमा जुटेका हुन्।
एमाले सरकार टिकाउने खेलमा लाग्दा विपक्षी गठबन्धन परिवर्तनको खेलमा सक्रिय छ। निर्वाचन आयोगले भदौ २२ सम्म एमाले सांसदलाई पार्टी रोज्ने अवसर दिएको छ।

त्यस दिनसम्म एमालेबाट समाजवादीतिर लाग्ने सांसदको संख्या चार भन्दा माथि भएमा आचार्यको सरकार सजिलै ढल्ने छ।
अहिले एमाले फुटेको फाइदा लिएर माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी र साना दुई दलका सांसद सरकार फेर्ने खेलमा लागेका छन्।

त्यहाँ एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लागेका राजेन्द्र राई मुख्यमन्त्री बन्ने दाउमा छन्।
प्रदेश १ मा भोजपुरबाट निर्वाचित मुख्यमन्त्री शेरधन राईले सत्ता छाडेपछि आचार्य मुख्यमन्त्री भएका थिए। तर अब आचार्यलाई विस्थापित गरेर भोजपुरकै राजेन्द्र राई मुख्यमन्त्री बन्ने योजनामा जुटेका छन्।

निर्वाचन आयोगले दल रोज्ने सुचना निकाल्नु अघि नै प्रदेश १ मा एमालेका करिब १० जना सांसद एकीकृत समाजवादीमा लागिसकेको बताइएको छ।
एमाले छाडेर एकीकृत समाजवादीमा लाग्नेहरुमा राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ्, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङसहित छन्।

माधव नेपालको पक्षमा सांसदहरु राजेन्द्र, गणेशकुमार र कृष्ण कुमारीले सनाखत नै गरिसकेको अवस्था छ।
आचार्यलाई भदौभित्रै हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाउमा समाजावादीका सांसद राजेन्द्र राई लागि परेका छन् ।
उनी एमालेतर्फका सांसदहरु धेरै भन्दा धेरै तानेर आफ्नो पक्षमा ल्याउन लागेका छन्। त्यस्तै उनले जनजाति पृष्ठभूमिका साना दलका सांसदलाई पनि फकाइरहेका छन्।

नयाँ सरकार निर्माणका लागि कांग्रेस र माओवादीसहितसँग छलफल भइरहेको जानकारी राईले दिएका छन्।
प्रदेश १ मा हाल ९२ सांसद छन्। एमालेतिर लागेपछि माओवादीले टंक आङ्वोहाङको पद खोसिसकेको छ।

प्रदेश १ मा एमाले एक हुँदा स्पष्ट बहुमत छ। त्यहाँ एमालेका ५१, कांग्रेसमा २१, माओवादी केन्द्रका १५, जनता समाजवादीमा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १र१ जना सांसद छन्।

एमालेका ५१ सांसदमा गुलेफुन खातुनमाथि कीर्ते मुद्दा चलेको छ। उच्च अदालत विराटनगरले दोषी ठहर गरेदेखि उनी फरार छन्।
एमालेका बाँकी ५० सांसदमा १० जना समाजवादीमा जाने अवस्थामा एमालेको संख्या ४० मा झर्छ। यस्तो अवस्थामा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा बहुमत जुटाउन ४६ सांसद तयार पार्नुपर्ने हुन्छ।

एमालेतर्फ ४० मात्रै सांसद बचेको अवस्थामा आचार्य स्वत अल्पमतमा पर्छन्। त्यहीकारण उनको सरकार विस्तार भइनसक्दै धरापमा परेको हो।
यो संकट टार्न उनले जनता समाजवादीका तीन र साना दलका दुई सांसद फकाउने अभियानमा छन्। उनले एकीकृत समाजवादीतर्फ जाने सांसदलाई पनि रोकेर ४६ जना सांसद पुर्‍याउने कोसिस जारी राखेका छन्।

 

  • १४ भाद्र २०७८, सोमबार १२:५९ प्रकाशित