मणिपाल शुल्क प्रकरणः माग सम्बोधनमा आलटाल गरेको भन्दै आज पनि अनेरास्ववियुद्धारा प्रर्दशन

केन्द्रभाग मिडिया

पोखरा ।

मणिपाल शिक्षण अस्पतालले बढी शुल्क असुलेको भन्दै आन्दोलन गरिरहेको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज पनि दबाबस्वरुप विरोध प्रर्दशन गरेको छ ।अनेरास्ववियुले आज मणिपाल शिक्षण अस्पताल परिसरमै प्रर्दशन गरेको हो ।

कानुन विपरीत विद्यार्थीसँग असुलेको शुल्क फिर्ता गनुपर्ने, अनिवार्य होस्टल बस्नुपर्ने नियम हटाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेको अनेरास्ववियुले अस्पतालले माग सम्बोधन गर्न आलटाल गरेको भन्दै आजबाट पुन दबाब प्रर्दशन सुरु गरेको अनेरास्ववियुका केन्द्रिय सदस्य महेन्द्र पौडेलले बताए ।

पौडेलले भने,‘यसअघि हामीसँग प्रशासनले सक्दो माग सम्बोधन गर्ने भनेर समय मागेका थिए, तर त्यसपछि उनीहरुले वास्ता गरेनन्, माग सम्बोधनमा आलटाल गर्न खोजेपछि आजबाट हामीले फेरि दबाबमुलक आन्दोलन सुरु गरेका छौँ। अब माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।’

बढी शुल्क तिर्न बाध्य मणिपालमा अध्ययनरत विद्यार्थीको अध्ययनमा सहजिकरणका लागि अनेरास्ववियु गण्डकी प्रदेश कमिटीको आयोजनामा आन्दोलन भएको हो ।

कमिटीले अनिवार्य होस्टल बस्नुपर्ने नियम हटाउनुपर्ने, सेक्युरिटी डिपोजिटको प्रावधान हटाइनुपर्ने, एइसीको नियम अक्षरस कार्यान्वयन गनुपर्ने, कुनैपनि शिर्षकमा अतिरिक्त शुल्क, जस्तै, खेलकुद शुल्क, डकुमेण्टेसन शुल्कको प्रावधान राख्न नपाइने,कुनै पनि बहानामा विद्यार्थीहरुको नम्बर तलमाथि गर्न तथा मस्तिष्क कब्जा गर्ने, डरधम्की र सजाय दिन नपाईने, कलेज भित्रका सबै विकृति विसंगति अन्त्य गनुपर्ने,स्थानीय बासिन्दाको जनभावनाको कदर गरिनुपर्ने, कानुनमा रही पठनपाठन सञ्चालन गरिनुपर्ने लगायतको माग राखेको छ ।

मणिपालले विभिन्न बहानामा विद्यार्थीसँग आफूखुसी शुल्क लिने गरेको विद्यार्थीहरुले आरोप लगाउने गरेका छन् । सरकारले एमबीबीएस पढ्ने विद्यार्थीलाई उपत्यकाभित्र ४० लाख र बाहिर ४४ लाख रुपैयाँ तोकेको छ ।तर मणिपाल तोकेको शुल्क भन्दा ६ लाख बढी सम्म शुल्क असुल्ने गरेको विद्यार्थीको गुनासो छ । ।

अनेरास्ववियु गण्डकी प्रदेशले यसअघि मणिपाल शिक्षण अस्पतालमा तालाबन्दी गरेको थियो ।

  • ५ पुष २०७८, सोमबार १४:३४ प्रकाशित