एमाले गण्डकी प्रदेश कार्यालय सचिवको जिम्मेवारी रस्मी अचार्यलाई

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उपसचिव रस्मी आचार्यलाई कार्यलय सचिव बनाउने निर्णय गरेको छ । प्रदेश कमिटीको आइतबार बसेको बैठकले आचार्यलाई कार्यालय सचिवको जिम्मेवारी दिने निर्णय गरेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेश कमिटीले पूर्णता पाएपछि पहिलो र प्रदेश कमिटी गठन भएपछिको नवौं बैठक पोखरामा बसेको हो । एमालेले पछिल्लो पटक चार सय आठ सदस्यीय गण्डकी प्रदेश कमिटी बनाएको छ । प्रदेश कमिटीको बैठक आगामी माघ २३ गते एकै साथ हुन गैरहेको जिल्ला अधिवेशन केन्द्रीत थियो । यसका अलावा बैठकले पार्टी निर्माणमा महत्वपूर्ण निर्णयहरु गरेको प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिएका छन् ।

बैठकले जिल्ला अधिवेशनमा सहभागी हुनका लागि प्रत्येक वडा कमिटीबाट प्रतिनिधि छनौट गर्ने आधार तय गरेको छ । गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्लामा २३ गते नै अधिवेशन सम्पन्न गर्न निर्देशन दिदैै बैठकले जिल्ला अधिवेशनका लागि वडाबाट छनौट गरिने प्रतिनिधि पनि जिल्लाभर एकै दिन छनौट गर्नु पर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय महाधिवेशनको सन्देश र पार्टी प्रवेश कार्यक्रम टोल टोलमा पु¥याउने निर्णय पनि गरेको गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले जानकारी दिए । यी कार्यक्रम लिएर टोल टोलमा पुग्दा पार्टीको टोल कमिटी पनि गठन गरिने उनले बताए ।

उपसचिव रश्मिका अनुसार पार्टीले एमालेका जनप्रतिनिधिले निर्वाचित भएपछि गरेका कामको अभिलेखीकरण पनि गर्ने भएको छ । ‘स्थानीय, प्रदेश र संघीय जनप्रतिधिले आफ्ना पालिका र क्षेत्रमा गरेका कामको विवरण पुस मसान्तसम्म प्रदेश पार्टी कार्यालयमा पठाउने निर्णय पनि आजको बैठकले गरेको छ ’ उपसचिव आचार्यले भने ।

बैठक एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । बैठकलाई सम्बोधन गर्दै गुरुङले पार्टीलाई व्यवस्थित र बलियो बनाउन सक्रियतापूर्वक लाग्न निर्देशन दिए ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकलाई सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्माकुमारी अर्याल, स्थायी कमिटी सदस्यद्वय किरण गुरुङ र खगराज अधिकारी, पोलिटब्यूरो सदस्यहरु जगत विश्वकर्मा, मना केसी र मायानाथ अधिकारीले सम्बोधन गरेका थिए ।

 

  • ४ पुष २०७८, आईतवार १९:१७ प्रकाशित