लेखनाथ महोत्सव माघ १३ देखि, पौष ११ देखि स्टल बुकिङ खुल्ला

केन्द्रभाग मिडिया

पोखरा ।

१७ औँ लेखनाथ महोत्सव आगामी माघ १३ देखि २४ गतेसम्म आयोजना हुने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ को आयोजनामा हुने महोत्सव पोखरा २७ तालचोक डाँडाकोनाकमा सञ्चालन हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

कोभिड १९ को कारण थला परेको अर्थतन्त्रलाई चलायनमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको संघले जनाको छ ।

‘महोत्सव लेखनाथको संस्कृति,स्थानीय उत्पादन, विकास र सम्वृद्धि’भन्ने नारासहित हुन लागेको महोत्सवमा करिब ३०० स्टल रहने महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बाँस्तोलाले बताए ।

मेलामा राखिएको स्टलहरुबाट १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । भने महोत्सवबाट १ करोड ५ लाख आम्दानी हुने र ९० लाख खर्च भई १५ लाख बचत हुने अनुमान गरिएको छ ।

महोत्सवका लागि संघका सदस्यहरुलाई प्राथमिकता दिई १० प्रतिशत छुटमा आजदेखि स्टल बुकिङ खुल्ला गरिएको छ भने अन्य व्यवसायीका लागि  पौष ११ देखि स्टल बुकिङ खुल्ला गरिने लेखनाथ उद्योग वाणिज्य संघक अध्यक्ष क्षत्रधर आत्रेयले जनाकारी दिए ।

महोत्सवमा साहित्यीक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरिय कार्यक्रम, साँस्कृतिक कार्यक्रम, आदाीवासाी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रर्दशनी लगायतका कार्यक्रम हुनेछ । यस्तै जातजातिहरुको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा / महिला समुहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुष प्रदर्शनी रहनेछ ।

ख्याती प्राप्त हास्य व्यंग्य कलाकारको दैनिक प्रस्तुती, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुलाई लक्षित लाइभ म्युजिक कन्सर्ट कार्यक्रमको मुख्य आर्कषणमा रहेको आयोजकले बताएको छ । यस्तै बाल उद्यान, खाना महोत्सव पनि महोत्सवको आर्कषण केन्द्रमा रहेको छ ।

महोत्सवमा वृद्धवृद्धा आमा बुबा, अपाङ्ग र एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

महोत्सवलाई सफल पार्नका लागि ८ सदस्यीय निर्देशक समिति, ३६ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४९ सदस्यीय कार्यम्पादन समिति गठन गरिएको छ ।

औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रर्वद्धन,पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, जातीय भेषभुषा,कला संस्कृति,रीतिरिवाजको जगेर्ना ,आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आर्कषण गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको छ ।

महोत्सवबाट हुने बचत प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग , कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास , पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षणमा खर्च गरिने आयोजकले बताएको छ । यस्तै संघले यो वर्षलाई रजत वर्षको रुपमा मनाउन लागेको अध्यक्ष आत्रेयले जानकारी दिए ।

करिब २ लाख पचास हजार दर्शकले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

  • ४ पुष २०७८, आईतवार १४:०९ प्रकाशित