दलीय सहमतिबिना एमसीसी पास हुदैँन: सहमहामन्त्री जिवन परियार

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली काँग्रेसका सहमहामन्त्रीमा निर्वाचित जिवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)दलहरुको सहमति बिना पास हुन नसक्ने बताएका छन् ।

सहमहामन्त्रीमा निर्वाचित भएपपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजनाको गरेको पत्रकार सम्मलेनमा यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै परियारले सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेसँगको सहमति पश्चात मात्रै एमसीसी पास सम्भव हुने बताए ।

काँग्रेसको १४ औँ महाधिवेशनले पार्टी एकत्रित र एकताबद्ध रहेको सन्देश दिएको बताउँदै पार्टीभित्रको गुटगटको अन्त्य गरेर पार्टीलाई अघि बढाउन आफुहरु प्रतिवद्ध रहेको उनको भनाई थियो ।

परियारले एमसीसीकै कारण पाँच दलीय गठबन्धन नटुट्ने बताए । यद्यपि आगामी निर्वाचनमा गठबन्धन कायम रहने वा नरहने भन्ने बारे पार्टीभित्र औपचारिक छलफल नभएको जनाए ।

उनले भने,‘ गठबन्धन टुट्दैन, यद्यपि आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने नरहनेबारे अहिल्यै पार्टीमा छलफल भएको छैन। सबै ठाउँमा नभएपनि केही ठाउँमा भने गठबन्धन हुनसक्छ ।’

पछिल्लो समय काँग्रेसमा युवापुस्ताको आर्कषण बढेको र यसपाली महाधिवेशनमा निर्वाचित युवापुस्ताको नेतृत्वमा कास्कीदेखि देशैभरका सबै जिल्लामा काँग्रेस अब नयाँ जोशजाँगर र नयाँ ढंगले अघि बढ्ने उनले जिकिर गरे ।

कार्यक्रममा कास्कीका सभापति किशोरदत्त बरालले सहमहामन्त्रीमा निर्वाचित परियारलाई स्वागत गरेका थिए ।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रदीप पौडेलले सञ्चालन गरेका थिए ।

  • ४ पुष २०७८, आईतवार १०:११ प्रकाशित