मिस तामाङ पोखराको तालिम शुरु

केन्द्रभाग मिडिया

पोखरा ।

बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो । सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो छैठौं संस्करण हो ।

तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको बताए ।

शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य धनमाया तामाङ्गले आफ्नो समुदायको भाषा, भेषभुषा संस्कृति नै जातीको अस्तित्व भएको बताइन् । उनले यस्तो खालको सृजनात्मक कार्यक्रमले कलासंस्कृतिको जगेर्नाा गर्न टेवा पुग्ने धारणा राखिन् ।

कार्यक्रममा तामाङ्ग बौद्ध सेवा समितीका अध्यक्ष विष्णु तामाङ्ग, वडा प्रहरी कार्यलय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक चिनीमाया तामाङ्ग, गिनिज बुक रेकर्ड होल्डर नवल पन्जियार, आरजे होल्डिङ्ग रियल स्टेटका प्रबन्ध निर्देशक राजु केसी, बैदाम तामाङ्ग सेवा समाजका डोल्मा लामा, राम लामा, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल लगायतले बोलेका थिए ।

पहिलो दिनको प्रशिक्षण लेकसिटी कलेजका सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेलले प्रदान गरेका थिए । ४५ दिन सम्म चल्ने प्रशिक्षणमा तामाङ्ग जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक एवम पहिलो मिस तामाङ्ग निमा तामाङ्गले जानकारी दिए ।

प्रतियोगितामा पोखरा औद्योगिक क्षेत्रका अल्जिना तामाङ्ग, सिम्पानीका सन्जु तामाङ्ग, निरा तामाङ्ग, रत्नचोकका रेखा तामाङ्ग, रानीपौवाका पुजा लामा, भेडिफारामका मान्सी तामाङ्ग, हेम्जाका जिया तामाङ्ग, रिठेपानीका पेमा तामाङ्ग र लेकसाइडका आशिका तामाङ्ग सहभागी छन् ।

  • ३ पुष २०७८, शनिबार २०:२७ प्रकाशित