एमसीसीको विपक्षमा एमाले उपमहासचिव गुरुङ, भने ‘५६ अर्ब ठूलो कुरा होइन’

केन्द्रभाग मिडिया

लमजुङ ।
सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोगमा संसदमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने तयारी थालेको बेला एमालेका एक प्रभावशाली नेता त्यसको विपक्षमा देखिएका छन् ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ एमसीसीको विपक्षमा देखिएका हुन् । उनले अमेरिकाको ५६ अर्ब नलिँदैमा नेपालमा विकास हुँदैन भन्ने कुरा पत्यारिलो नभएको बताए । शुक्रबार लमजुङको बेशीसहरमा प्रेस चौतारी लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टी एमाले एमसीसी पास गर्नुपर्ने पक्षमा नरहेको दाबी समेत गरे । ‘हाम्रो पार्टी एमाले आजको मितिसम्म एमसीसी पास गर्नुपर्ने पक्षमा छैन’ उनले भने, ‘अरिकाको ५६ अर्ब नलिएकै कारण नेपालमा विकास हुँदैन भन्ने कुरा पत्यारिलो छैन ।’

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङले ‘१७ खर्बको बजेट हुने मुलुकमा अमेरिकाको ५६ अरब ठूलो कुरा होइन’ भनेका छन् । उनले एमाले एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

प्रचार विभाग प्रमुख गुरुङले सत्ता गठबन्धनको लागि एमसीसी ‘सर्पको मुखमा पुगेको छुचुन्द्रो जस्तै’ भएको टिप्पणी गरेका छन् । एमसीसी पास भएमा सत्ता गठबन्धन टुट्ने उनको दाबी छ । गुरुङले सत्ता गठबन्धनलाई एमसीसी निल्नु न ओकेल्ने भएको टिप्पणी समेत गरेका छन् ।

‘यो राजनीतिक विषयसँग जोडिएको छ । यो अन्तत्वोगत्व इन्डो प्यासिफिकसँगै जोडिएको विषय हो । यसलाई कसरी बुझ्ने भन्नेमात्रै हो’ उनले भने, ‘अब हामी अमरिकी ध्रुवमा जाने कि चीनको ध्रुवमा जाने भएको छ । कुनै पनि ध्रुवमा नजोडी नेपालले दुवैलाई सम्तुलित बनाएर बस्दा उपयुक्त हुन्छ ।’

  • ३ पुष २०७८, शनिबार ०७:२२ प्रकाशित