बार्षिक कार्यक्रम तय गर्न रुपन्देही उद्योग संघको कार्यशाला गोष्ठी पोखरामा

केन्द्रभाग मिडिया

पोखरा ।
रुपन्देही उद्योग संघको २ दिने कार्ययोजना कार्यशाला गोष्ठी शुक्रवारबाट पर्यटकिय नगर पोखरामा सुरु भएको छ । संघको बार्षिक कार्ययोजना तयार गर्न तथा विगतको कामको समिक्षाका लागि आयोजित गोष्ठीमा संघको कार्यसमिति, सल्लाहाकार, पूर्वअध्यक्षहरुको सहभागिता रहेको छ ।

गोष्ठीको शुभारम्भ गर्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघको पहिचान र उद्देश्यहरुलाई पुरा गराउन योजनावद्ध रुपमा जाने लक्ष्य सहित कार्यशाला गोष्ठीको आयोजना गरेको बताए । उनले संघले तयार गरेको रणनीतिक योजनालाई व्यवहारिक रुपमा कार्यान्वयन गराउन गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष पौडेलले औद्योगिक विकासका लागि तय गरी नीति र व्यवहारमा देखिएका समस्याहरुको पहिचान गर्न र संघले अगाडी सारेका कामलाई जिम्मेवारीपूर्वक पुरा गराउन सामुहिक छलफलले मद्दत गर्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा संघका सल्लाहाकार परिषदका संयोजक एवं पुर्व अध्यक्ष दिनेशराज रेग्मीले संघले विगतका बर्षहरुमा जस्तै कार्ययोजना बनाउने कामलाई निरन्तरता दिएकोमा धन्यवाद दिदै बनाएका योजनाहरु कार्यान्वयन गर्ने कुरामा गम्भिर बन्न आग्रह गरे
संघका निर्वतमान अध्यक्ष बाबुराम बोहोराले संघको इतिहासलाई ।मनन गर्दै त्यसलाई थप बलियो बनाउन यस प्रकारका गोष्ठीहरुले बल प्रदान गर्ने विश्वास व्यक्त गरे ।

संघका पूर्व अध्यक्ष तेजकुमार पाठकले कार्ययोजना बन्ने तर त्यसलाई पुरा नगर्ने प्रवृतिको अन्त्य जरुरी रहेको धारणा राखेका थिए ।
कार्यक्रममा प्रशिक्षक इन्द्र कुमार श्रेष्ठले कुनै पनि संघसंस्थाले आफ्नो मिसन, भिजन र गोललाई पुरा गराउन बार्षिक कार्ययोजना बनाएर काम गरेको खण्डमा परिणामहरु हात लाग्ने बताउँदै सहभागितामुलक वहसमा जोड दिएका थिए ।

दुइ दिनसम्म चल्ने गोष्ठीको पहिलो दिन सहभागिहरुलाई ५ समुहमा विभाजन गरी संस्थाका सवल पक्ष र दुर्वल पक्षको समिक्षा गर्दै आगामी चुनौती र लक्ष्यको समिक्षा गर्दै बुदाँगत कार्ययोजना बनाउन थालिएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी दिए ।

गोष्ठीले संघले अघिल्लो कार्यसमितिले तयार पारेको कार्ययोजनाको समिक्षा गर्ने र त्यसमा आवश्यक सुधार गर्दै आगामी २ बर्षका लागि चरणबद्ध योजना बनाउने महासचिव हरि बहादुर खत्रीले जानकारी दिए। संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाको संयोजनमा भइरहेको गोष्ठी सनिवारसम्म चल्ने छ ।

संघले विगत २ दशकदेखि कार्यशाला गोष्ठीको आयोजना गर्दै संघको रणनीतिक कार्ययोजनाहरु बनाउँदै आएको छ ।

  • २ पुष २०७८, शुक्रबार १७:०६ प्रकाशित