तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षक सेवा आयोग एघारौँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिएका छन् । सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिशमा पूर्णप्रसाद पौडेललगायत २९ जनालाई रु २३ लाख २० हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

यस्तै सरकारले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (पहिलो संशोधन) गठन आदेश, २०७८ स्वीकृत गरेको छ । बैठकले विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणी पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

सरकारले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई भारतीय सशस्त्र बलको ५८औँ स्थापना दिवस कार्यक्रममा भाग लिन स्वीकृति दिएको छ । बैठकले ‘दि एलाइन्स फ्रान्सकासिस काठमाडौँ’ (एएफके)सँग भएको सम्झौता परिमार्जन गरी संशोधित सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिएको छ । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि पाँच अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

  • २ पुष २०७८, शुक्रबार १६:३४ प्रकाशित