लोकसेवा आयोग प्रति जनताको ठूलो विश्वास र भरोसा छ : प्रदेश प्रमुख गुरुङ

केन्द्र खबर

पोखरा ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोग प्रति जनताको ठूलो विश्वास र भारोसा रहेको बताएका छन् ।

गण्डकी प्रदेश लोकसेवा आयोगद्धारा तयार पारिएको प्रतिवेदन आइतबार बुझ्दै उनले यस्तो बताएका हुन् । उनले जनताको विश्वास र भरोसालार्ई निरन्तरता दिँदै आयोगलाइ अझै निष्पक्ष र पारदर्शी ढंगबाट अघि बढाउन आग्रह गरे ।

प्रदेश प्रमुख गुरुङले कर्मचारी प्रशासन स्थायी सरकार भएको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा कर्मचारी प्रशासनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।  सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्दै सेवाग्राही जनतालाई छिटोछरितो सेवा दिँदै दक्षजनशक्ति छनोट गर्ने जिम्मेवारी समेत लोकसेवा आयोगमा रहेको उनले संझाए ।

प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष विष्णु नेपालले संवैधानिक व्यवस्था अनुसार आयोगद्धारा बार्षिक प्रतिवेदन तयार पारि प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको जानकारी दिए । कोरोना महामारीका बीच पनि प्रदेशका सम्पूर्ण जिल्लाबाट लिइएको सुझावका आधारमा प्रतिवेदन तयार पारीएको उनले बताए ।

प्रदेश लोकसेवा आयोगको आफ्नै भवन नरहेकाले भाडाको भवनमार्पmत कार्य सञ्चालन भएको बताउँदै अध्यक्ष नेपालले दुवै आयोगको कार्य सञ्चालन सरकारी कार्यालय भित्रबाट नै हुन सके आर्थिक व्ययभार कम हुनुको साथै काममा समेत थप सहज हुने विश्वास व्यक्त गरे । सो अवसरमा बोल्दै प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलाले प्रदेश लोक सेवा आयोगको बार्षिक प्रतिवेदन कार्यान्वयनमा आफुहरुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आर्थिक बर्ष समाप्त भएको ४५ दिन भित्रमा आयोगको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नु पर्ने प्रावधान बमोजीम आयोगले आफनो प्रतिवेदन बुझाएको हो ।

 

  • १३ भाद्र २०७८, आईतवार १८:१३ प्रकाशित