सुजाता कोइरालाले फेसबुकमा लेखिन्ः ‘चुनाव हारे पनि आफूलाई विजयी ठानेको छु’

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको उपसभापति मा पराजित भएकी नेतृ सुजाता कोइरालाले आफूले पार्टीको चुनाव हारे पनि विजयी महसुश गरेको बताएकी छन् ।

‘मैले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । कांग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ।

देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरू विशेषगरी महिलाको मुहारमा आशा र उत्साह देखेको छु। यसले मलाई अझै हौसला थपेको छ’, उनले बिहिबार बिहान सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्।

उनले आफूले चुनावमा हारे पनि आगामी दिनमा महिलाहरू कांग्रेसको नेतृत्वमा आउने मार्ग कोरेको बताइन्।

‘मैले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौं महिलाहरूमा जुन हौसला देखेँ त्यसले निकट भविष्यमा महिला काँग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ’, उनले भनेकी छन्, ‘यो मेरा लागि राजनीतिक जीत हो । म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिवद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु।’

  • १ पुष २०७८, बिहीबार ०९:०६ प्रकाशित