कोइराला परिवारबाटै साथ नपाएका शेखर जबर्जस्त शिर्ष नेताका रूपमा उदाए

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजीत भए पनि डा. शेखर कोइराला पार्टीमा एउटा समूहको जबर्जस्त नेताका रूपमा उदाएका छन् । पहिलो चरणमा पाँच प्रत्याशीबीच भएको प्रतिस्पर्धामा शेखरले दोस्रो धेरै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनमा देउवासँग भिडेका थिए ।

कोइराला परिवारबाट समेत असहयोग हुँदा पनि शेखर युवाहरूको टिम बनाएर मैदानमा होमीए। इतर समूहबाट शेखरसँगै प्रकाशमान सिंह पनि सभापतिको उम्मेदवार भए । तर, दोस्रो चरणमा प्रकाशमानले देउवालाई समर्थन गर्ने सहमति गरेपछि कोइराला इतर समूहको प्रमुख नेताका रूपमा रहे। वरिष्ठ नेता रामचन्द्र पौडेलइतर समूहमै सभापतिको साझा उम्मेदवार बन्न नसकेपछि चुनावी प्रक्रियामै सहभागी भएनन् । आफ्नै भाई डा. शशांक कोइराला पनि शेखरको पक्षमा खुलेनन्। यसले पनि शेखरलाई आफ्नो समूहको नेता बन्ने अवसर दिएको छ ।

शेखर र शशांक एकै परिवारका दाजुभाइ हुन् । शशांक बिपी कोइरालाका छोरा हुन् भने शेखर बिपीका भाइ केशवका छोरा हुन् । रामचन्द्र पौडेलजस्तै डा. शशांक कोइराला पनि कुनै उम्मेदवारतिर खुलेनन् । तर कोइराला मतदानमा भने सहभागी भए। चुनावमा शेखरले भाइ शशांकसँग भोट माग्न मीनेन्द्र रिजाललाई पठाउनु पर्यो । शशांकको महाराजगन्जस्थित निवासमै पुगेर मीनेन्द्रले शेखरको पक्षमा खुलिदिन आग्रह गरेका थिए ।

  • २९ मंसिर २०७८, बुधबार १४:५२ प्रकाशित