‘पाहुनालाई ढिडो’ अभियान

केन्द्रभाग मिडिया

बागलुङ ।

बगलुङमा पाहुनालाई ढिडो अभियान सञ्चालन हुने भएको छ ।

समुदायमा पछिल्लो समय बढ्दै गएको आयातित खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ एक सहकारीले सो अभियान सञ्चालन गर्ने भएको छ ।

धौलागिरी क्षेत्रको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि पाहुनालाई ढिडो अभियान अन्तरगत स्थानीय खानाको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सुचना र सञ्चारलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले हरेक वर्ष समुदायलाई सचेत बनाउने नयाँ नयाँ अभियान सञ्चालन गर्दै आएको छ ।

संस्थाको मंसिर २७ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले बागलुङ जिल्लामा सञ्चालित घरबास कार्यक्रम (होस्टे) हरुसंग समन्वय गरी स्थानीय खानाको प्रवद्र्धनका लागि पाहुनालाई ढिडो अभियान सञ्चालन गर्न निर्णय गरेको छ ।

दुर्गम भन्दा दुर्गम ठाउँमा पनि खाजा, खानाका रुपमा आयातित खाद्यान्न, प्याकिङ तथा जंग फुडको प्रयोग बढ्दै गएको र त्यस्ता प्रकारका खानाले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्नुका साथै आर्थिक अवस्थामा समेत असर पार्ने भएकाले यसलाई न्यूनिकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ पाहुनालाई ढिडो अभियान सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले जानकारी दिए।

स्थानीय स्तरमा उत्पादित वस्तुको प्रयोग घट्दै गएको, उत्पादनबाट श्रमशक्ति छुट्दै गएको, बालबालिकादेखि जेष्ठ नागरिकसम्म, घरको भान्सादेखि मेलापातसम्म खाना तथा खाजाका रुपमा चाउचाउ, चिउरा, विस्कुट लगायतका खाद्यवस्तुको प्रयोग अत्यन्तै बढेको छ, अध्यक्ष जिसीले भने–‘अजिनो मोटो, इष्ट जस्ता औषधीको प्रयोग गरेका वस्तु खानाले मानिसमा दीर्घ रोग हुनुका साथै वचत गर्न सकिने पैसा समेत खर्च हुने गरेको छ, यसलाई नियन्त्रण गर्नका लागि व्यापक जनचेतना आवश्यक पर्छ ।’

बागलुङमा सञ्चालनमा रहेका होमस्टेहरुसंग समन्वय गरेर आदर्श सञ्चार सहकारीले जिल्ला व्यापी रुपमा स्थानीय खानाको प्रवद्र्धनको अभियान सञ्चालन गर्ने योजनाका साथ अगाडि बढेको उनको भनाइ छ ।

कतिपय होमस्टेहरुले समेत बाहिरबाट आएको खाना पाहुनालाई खुवाउने गरेको भन्दै उहाँले अब होमस्टे मात्रै होइन, प्रत्येक घरमा आउने पाहुनालाई ढिडो लगायत घरमै उत्पादित चिज खुवाउन सन्देश दिने गरी कार्यक्रम अगाडि बढाउने संस्थाले योजना रहेको छ ।
बागलुङ जिल्लामा २८ वटा होमस्टे सञ्चालनमा छन् ।

बागलुङ नगरपालिकामा १, काठेखोला गाउँपालिकामा ९, बरेङमा १, जैमिनी नगरपालिकामा ४, गलकोट नगरपालिकामा ४, ताराखोला गाउँपालिकामा २ र ढोरपाटन नगरपालिकामन ७ वटा होमस्टे सञ्चालनमा छन् । ति होमस्टेहरुसंग समन्वय गरी पाहुनालाई ढिडो अभियान सञ्चालिन गरिने संंस्थाले जनाएको छ ।

  • २९ मंसिर २०७८, बुधबार १३:५८ प्रकाशित