गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, सक्रिय संक्रमितको संख्या बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा थप १ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा १० की ७० वर्षीया वृद्धा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २४ पुगेको छ ।

यस्तै २४ घण्टामा आज ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १२ जना निको भएका छन् ।१९५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार १८३ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ५४९ रहेको छ ।
संक्रमित हुनेमा कास्कीका ६, तनहुँका ३, बागलुङका २५, स्याङ्जाका ४ र नवलपरासीका १ जना रहेका छन् । १८ महिला र २१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५३ हजार ९९८ जनाको परीक्षण भएको छ । गण्डकीमा पछिल्लो समय सक्रिय संक्रमितको संख्या बढेको छ । हाल प्रदेशमा २१० सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १८७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

हिजो मात्रै प्रदेशमा सक्रिय संक्रमितको संख्या १८१ रहेको थियो भने १५७ जना होम आइसोलेसनमा रहेका थिए ।

  • २८ मंसिर २०७८, मंगलवार १६:२३ प्रकाशित